नजिकिँदै गरेको चाडपर्वको लागि गत वर्षभन्दा बढी यात्रु बाहिरिने
प्रकाशित मिति
२०७९ आश्विन ६ गते, बिहीबार ०२:२२
६ आश्विन २०७९, काठमाडौँ: दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।
अहिले चहलपहल बढेको छ र घटस्थापनापछि अझै पनि बढ्नसक्छ । उनले भने, “चुनावी चहलपहल र कोरोना कम भएकाले यस वर्ष बढ्नसक्छ ।” सरकारले १० गतेबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागिएको छ । तोकिएकोभन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुव्र्यवहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे । ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्नका लागि प्रहरी र महासङ्घको नम्बर टाँस्ने उनको योजनामा छ । उनले भने, “अघिल्ला वर्षमा कोभिडका कारण उत्साहपूर्ण नभएकाले यो वर्ष केही उत्साह थपिने अनुमान छ ।”
चितवानसम्म सडकको अवस्था राम्रो भए पनि बुटवाल–नारायणगढ सडक नाजुक भएकाले आवतजावत गर्न अप्ठ्यारो भएको जनाइएको छ । अहिले नारायणगढबाट बुटवलसम्म पुग्नका लागि नै पाँच घण्टा लाग्ने अवस्था छ । उपत्यकाबाट बाहिर र बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुका लागि सरकारले गत शनिबारबाट अग्रीम टिकट खुलाइएको छ । यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट खुलाएको हो ।
विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो । यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने र यात्रुलाई छुट र सहुलियत प्रदान गर्ने निर्णय भएको थियो । कोभिड–१९ माहामारीलाई मध्यनजर गर्दै माक्सको प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ । उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी, मजदूरसँग सहकार्य गरेर प्रभावकारी अनुगमनको व्यवस्था गर्ने बताइएको छ ।
सुरक्षित रुपमा यात्रु घर जानसक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायत सबै लाग्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने बताए । अहिले अति आवश्यक पर्ने सामान ल्याउने बाहेक अठार र बीस चक्के सवारीसाधन चल्नुहुँदैन । यातायात व्यवस्था विभागले १५ गतेबाट यी मालबाहक सवारीसाधन रोक्ने निर्णय गरेको छ ।
विभागले यात्रुको जानकारी लागि ठाउँठाउँमा भाडाको दर राख्नुपर्ने विभागले जनाएको छ । सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गाडी चार थरीका गाडीमा तोकिएको भाडा लिन जनाइएको छ । यात्रुले तोकिएको ठाउँमा नै गएर टिकट काट्दा मात्रै ठगिनबाट बच्न सक्नेछन् । विभागले १४ ठाउँमा नागरिक सहायता कक्षको व्यवस्था गर्ने भएको छ । त्योसँगै सडक राम्रो बनाउन समन्वय गर्ने, ट्राफिक व्यवस्थापन विभागको काम हो । यातायात व्यवसायीले भएका सवारीसाधनमार्फत यात्रुलाई गन्तब्यसम्म पु¥याउने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।
यसवर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने महासङ्घले जनाएको छ । शनिबारदेखि नै टिकट लिन थालेपनि असोज १० गतेबाट धेरै यात्रु जानेछन् । हाल भएका यात्रुमध्ये कोही अहिलेबाट नै जान थाल्छन् भने कोही घटस्थापनादेखि जाने र सबैभन्दा बढी चाप फूलपातीपछि हुने उनले बताए । उनले भने, “फूलपातीपछि अति धेरै चाप हुन्छ ।”
यात्रु सजिलो रुपमा आवतजावत गर्न सबैले आ–आफ्नो भूमिका निभाउनुपर्ने उनले बताए । व्यवसायी, मजदूर र ट्राफिक, विभागले भूमिका निभाएपछि मात्रै यात्रु सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न सक्ने उनले बताए । सरकारले अनलाइन टिकट सुरु गरेपनि त्यसको प्रयोग अपेक्षाअनुसार बढ्न सकेको छैन । पहिलेभन्दा केही बढेपनि अझै व्यवस्थित हुन नसकेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । अहिलेको समयमा सधैँ यात्रु लाममा लागेर नहुने भए पनि सरकारले अनलाइन टिकटलाई प्रभावकारी बनाउन सकिरहेको छैन ।
प्रविधिको विकासदेखि सडक मर्मतका विषयमा समयमा नै सुरु गर्नुपर्ने भए पनि चाडपर्व नजिकै आएपछि मात्रै सबै पक्षले ध्यान दिने उनले बताए । यात्रुले काउन्टरमा टिकट काटेपछि हेरेर मात्रै हिँड्नुपर्ने उनले बताए । आफू जाने ठाउँ, मिति मागेको सिट हो–होइन तत्काल हेरेर सच्याउनुपर्ने उनले सुझाव दिए । दसैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रुहरु यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । सडकमा रहेका खाल्डाख्ुल्डी र पहिरो पन्छाउन ‘हेभिइक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न वरिष्ठ उपाध्यक्ष सिटौलाले सडक विभागलाई अनुरोध गरेका छन् ।
यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी रहेका छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहेको उनले बताए । काठमाडौँबाट सदरमुकाम गएर त्यहाँबाट यात्रु गाउँगाउँमा जानुपर्ने उनले बताए । उनले भने, “गाउँका पहाडी भेगका सडक पनि त्यहाँका डिभिजन सडक कार्यालयले खाल्डा पुर्ने, अवरोध हटाउने र सवारीसाधन चल्न सक्ने बनाउनुपर्छ ।”
प्रतिकृया