• 4:54 pm

राष्ट्रपतिको कदमको स्वागत गदै नागरिकता अध्ययन कार्यदल–०७९ द्वारा प्रधानमन्त्री देउवाको राजीनामा माग

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार ०४:४५

५ आश्विन २०७९, काठमाडौँ: नागरिकता अध्ययन कार्यदल–०७९ले नागरिकता विधेयक प्रमाणीकरण अस्विकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम राष्ट्रहितको पक्षमा रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको छ । नागरिकता विधेयक असफल भइसकेपछि देउवाले नैतिकताको आधारमा राजीनामा दिएर अन्तरिम सरकारको लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको छ ।


विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गर्न आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत विधेयक पास गर्ने राष्ट्रिय सभा र गठबन्धन सरकारले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो । साथै राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयास राष्ट्रपतिले असफल बनाइदिएको कार्यदलको ठहर छ ।


विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपतिलाई बिभिन्न बहानामा बदनाम गर्ने र देशलाई अशान्ति, अस्थिरता, अस्तव्यस्तता र अराजकतातिर धकेल्न खोजिने भन्दै त्यसतिर सचेत हुनु कार्यदलको आग्रह छ । कार्यदलले जारी गरेको विज्ञप्तीमा लेखिएको छ,“देशमा द्वन्द्व र दङ्गा मच्चाई असफल राष्ट्र बनाएर विदेशी सेना निम्त्याउने षड्यन्त्रमा छन् भन्ने देखिन्छ । यी दुवै हरकतहरुमध्ये कुनै एउटा अघि वा पछि पारेर गर्ने अथवा दुवै एकसाथ गर्ने गरेर देश डुबाउनेमै यी दलाल शासकहरु सकृय छन् ।”


दीगो विकासका लागि आवश्यकतानुसार देशव्यापी रुपमा संयुक्त र सशक्त आन्दोलनमा उत्रन पनि सम्पूर्णलाई आग्रह गरिएको छ । “देश, जनता र सुशासनप्रति जिम्मेवार राजनीतिक शक्तिहरु, बौद्धिक व्यक्ति–व्यक्तित्वहरु, नागरिक अभियन्ताहरु, सम्बन्धित सबै विज्ञ–विशेषज्ञहरु एवं सचेत, स्वतन्त्र र संगठित आम जनसमुदायहरुलाई सावधान रहन, खबर्दारी गर्न र आन्दोलनमा उत्रन हार्दिक अपिल गर्दछौं ।”–विज्ञप्तीमा लेखिएको छ।


साथै देशको सावर्भौमिकतालाई सर्वाेत्तम हितमा राखी तत्काल सर्वाधिकार सम्पन्न उच्चस्तरीय नागरिकता छानविन आयोग बनाउन समेत माग गरिएको छ । उक्त आयोगबाट केहि सिमित आमाहरुको नामबाट दिनुपर्ने नागरिकता र तराईमा रहेको अल्पसंख्यक एवं जातीय र वर्गीय विभेदमा परेका निमुखा जनताको नागरिकताका समस्या हल गरिनुपर्ने कार्यदलले जोड दिएको दिँदै कार्यदलले गैरकानुनी, किर्ते र अवैध नागरिकता पुरै खारेज गर्ने व्यवस्था मिलाउनुपर्ने माग अघि सारेको छ ।


पत्रकार सम्मेलनमा बोल्दै कार्यदलका सहसंयोजक नारायण शर्माले सत्तागठबन्धनले जस्ताको तस्तै नागरिकता विधेयक राष्ट्रपतिलाई पठाएर दम्भ देखाएको बताएका छन् । विधेयक राष्ट्रहित विपरित देखेर राष्ट्रपतिले प्रमाणीकरण नगरेको उनको भनाइ थियो । राष्ट्रपतिले देश हितको पक्षमा साहसिक कदम चालेको उल्लेख गर्र्दै उनले गरेको पछिल्लो कदमको सराहना गरे । उनले भण्डारीलाई आगामी दिनमा पनि देश हितको पक्षमा निडर भएर काम गर्न सुझाव दिए ।


दुईपटक सम्म संसदमा पेश भएको विधेयक असफल भएपछि प्रधानमन्त्री देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो । कार्यदलका संयोजक साध्यबहादुर भण्डारीले नागरिकता विधयक प्रमाणीकरण नगर्न आफूहरु दुईपटकसम्म राष्ट्रपतिसमक्ष अनुरोध पत्र लिएर गएको सुनाए । उनले राष्ट्रपतिले सरकार र सदनलाई विधेयक देश हित विपरित भएको बारे ध्यानाकर्षण गराउँदा समेत सांसदहरुले कुल्चिने काम गरेको टिप्पणी गरे । राष्ट्रपतिको संविधान सम्मत कुरा सांसदहरुले कुल्चिने कार्य गरेको उनको ठहर छ ।


नागरिकता विधेयकले ६ प्रकारबाट राष्ट्रघात हुने उल्लेख गर्दै उनले भने,“६ प्रकारबाट विदेशीलाई नेपालमा भित्राउँदो रहेछ, दुई प्रकारबाट अंगिकृत नागरिकता बनाएर, चार प्रकारबाट वंशजको नागरिकता बनाएर विदेशीहरुलाई नेपालमा भित्राउँने र नेपालीहरुलाई अल्पमतमा पार्ने ।”

प्रतिकृया