• 6:41 pm

लोकमणि पौडेललाई “राष्ट्र यशोवर्द्धक” अलङ्कार

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार ०४:११

५ आश्विन २०७९, काठमाडौँ: असली रामजन्मभूमिका अनुसन्धाता लोकमणि पौडेल राष्ट्र यशोवर्द्धक अलङ्कारबाट सम्मानित हुने भएका छन्। संविधान दिवसका अवसरमा नेपाल सरकारद्वारा वर्षेनि विभिन्न राष्ट्रिय व्यक्तित्वहरूलाई अनेक मानपदवी, अलङ्कार द्वारा सम्मानित गर्ने प्रचलन रहिआएको छ। यसरी घोषणा गरिएका मानपदवी तथा अलङ्कार राष्ट्रपतिका हातबाट वैशाख १ गते प्रदान गरिन्छ।


अनुसन्धाता पौडेल विगत केही वर्षदेखि असली रामजन्मभूमिको अन्वेषणमा जुटिरहेका छन्। उनका अनुसार हाल इण्डियाको फैजाबादस्थित अयोध्या वास्तविक रामजन्मभूमि होइन। पौडेल भन्छन्- “विभिन्न शास्त्र तथा भूगोलले नेपालको चितवनमा रहेको माडीलाई नै वास्तविक रामजन्मभूमि सिद्ध गरेका छन्। तर अज्ञानतावश हामीले अंग्रेजले आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्न खडा गरेको फैजाबादी अयोध्यालाई नै वास्तविक अयोध्या ठान्ने भूल गरिरहेका छौं।” वास्तविक रामजन्मभूमि सम्बन्धी आफ्नो समग्र अध्ययन समेटिएको पुस्तक निकट भविष्यमै बजारमा आउने तयारी गरिरहेको उनी बताउँछन्।


रसायनशास्त्रमा स्नातकोत्तर गरेका पौडेल नेपाली भाषा र साहित्यमा पनि उत्तिकै प्रसिद्ध छन्। उनले लेखेको अग्निदहन नामक उपन्यासमा आधारित रहेर बनेको चलचित्रले चलचित्र विकास बोर्डबाट २०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्रको पुरस्कार प्राप्त गरेको थियो।

प्रतिकृया