• 12:59 am

अमेरिकामा गायन, वाद्यवादन, नृत्य र कमेडी विधामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुंदै

प्रकाशित मिति

२०७९ आश्विन ४ गते, मंगलवार ०७:१९

४ असोज २०७९, काठमाडौं : विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लागिएको बताए । कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइएपनि टेलिभिजनको नाम भने खुलाइएको छैन् ।


कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत हुन सघाउने आशा अध्यक्ष पुष्प गजमेरले लिएका छन् । हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उदेश्यसहित पहिलो संस्करण सुरु गरिएको अध्यक्ष गजमेरले कार्यक्रममा बताए । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्धारा प्रशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ । अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् ।


विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् । कार्यक्रममा अतिथिहरु बिशिष्ठ अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । एसोसिएसन अमेरिका र ड्रुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमका संचालक, बरिष्ठ संचारकर्मी अभिनेता तथा निर्देशक दिनेश डिसीले पुष्पको यो कदमको सबैले साथ दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा गीतकार संघका उपाध्यक्ष बसन्त बित्यासी थापा, समाजसेवी तथा निर्माण ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायत अन्य बिशिष्ठ व्यक्तित्वहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिकृया