समानुपातिक उम्मेदवारको सूची तयार पार्न कांग्रेसलाई सकस, देउवाले बोलाए समितिको बैठक
प्रकाशित मिति
२०७९ आश्विन २ गते, आईतवार ०९:२०
२ असोज २०७९, काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय समितिका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तय गर्न देउवाले संसदीय समितिको बैठक डाकेका हुन् । बैठक आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
हिजो बसेको संसदीय समितिको बैठकले सहमति जुटाउन सकेको थिएन् । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी आज टुंगो लगाइने छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।
प्रतिनिधिसभाका २७५ सिटमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सीट छन् । कांग्रेसले आज र भोली विहानसम्मा समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि ३३० उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने छ ।
कांग्रेस प्रवक्ता प्रकाशसरण महतले हाललाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘हामी निरन्तर छलफलमै छौँ, पार्टीभित्रको सबै सन्तुलन मिलाएर उम्मेदवार छान्नुपर्ने अवस्था छ, त्यसैले केही मेहिनेत परेको हो,’ उनले भने । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने मिति तोकेको छ । भोली विहानसम्मा कांग्रेससले टुंग्याउँछ ।’
प्रतिकृया