• 10:14 pm

कृषि विकास बैंक चार करोड घोटालामा पूर्वसहायक रथी बिष्ट र कर्मचारी रेग्मी दोषी ठहर

प्रकाशित मिति

२०७९ भाद्र २८ गते, मंगलवार ०६:१६

२८ भाद्र २०७९, काठमाडौँ : कृषि विकास बैंक न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश बिष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवाना सुनाएको सूचना अधिकारी नारदमुनि भट्‍टराईले जानकारी दिए।


बिष्ट वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर थिए। उनलाई अदालतले चार वर्ष कैद सुनाएको हो। दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सुनाएको छ। यस्तै रेग्मीको बिगो रकम तीन करोड ९२ लाख ४४ हजार ७४७ रुपैयाँ र रमेशको बिगो रकम ३१ लाख ६८ हजार ८६४ छ। उनीहरूलाई बिगो बमोजिम जरिवाना पनि तिराउन इजलासले भनेको छ। २०७४ सालमा कृषि विकास बैंक न्युरोड शाखाको ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो। सुरूमा बैंककी कर्मचारी रेग्मी पक्राउ परेकी थिइन्।


उनी पक्राउ परेपछि बिष्ट यस घटनामा मुछिएका थिए। बैंकमा कार्यरत सहायक टेलर रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले चेकमार्फत् कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (इसिसी) मार्फत् सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गरिदिने र भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः इसिसीमार्फत् कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्ट लगायतका खातामा हालिदिने गरेको अनुसन्धानबाट खुल्न आएको थियो।


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस घटनामा विष्ट र रेग्मीसहित ८ जनाविरूद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिकृया