‘अंगदान जीवन दान हो र यो भन्दा पूण्य कार्य अरु केही छैन’ -डा. पुकार चन्द्र श्रेष्ठ (भिडियाे सहित)
प्रकाशित मिति
२०७९ भाद्र २६ गते, आईतवार ०६:००

२६ भाद्र २०७९, काठमाडौँ: डा. पुकार श्रेष्ठ नेपालका अनुभवी र लोकप्रिय मिर्गौला प्रत्यारोपण सर्जन हुन् । उनको परिवारमा बुवा आमा, दुई दाजुहरु र दिदिहरू रहेका छन् । सामान्य परिवारमा हुर्केका उनी आफ्नो बुबा, आमा तथा दाजुहरुलाई प्रेरणाको श्रोतको रुपमा मान्दछन् । दैनिक कार्यको लागि उनी आफ्नो श्रीमतीबाट प्रेरणा मिल्ने गरेको बताउँछन् । उनले रोयल कलेज अफ एडिनबर्ग बेलायतबाट एमआरसीएस गरेका छन् । उनले वीर अस्पतालमा युके मापदण्डको नेपालमा पहिलो पटक प्रत्यारोपण सेवा स्थापना गरेका हुन् । उनले एक समर्पित सरकारी प्रत्यारोपण केन्द्र र परोपकारी संस्था आरोग्य फाउन्डेसन पनि स्थापना गरेका छन् जसले नेपालमा उपचारका लागि भारत जान नसक्ने मानिसहरूको सेवा गर्दै आएको छ । त्यसैगरी, प्रत्यारोपणको विकासमा प्रमुख कोसेढुङ्गा भएको नेपालमा ब्रेन डेथ ऐन ल्याउनमा उनको महत्वपूर्ण योगदान रहेकको छ । रोगबाट बच्न सचेतना अभियानमा निकै सक्रिय रहँदै आएका आफ्नो क्षेत्रमा लागेका उनको समर्पणका कारण उनले नेपाल सरकारबाट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र प्रज्वल जनसेवाश्रीबाट सम्मानित भइसकेका छन् । हाल उनी शहीद धर्मभक्त, राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक र आरोग्य फाउन्डेसनमा महासचिवको पदमा कार्यरत छन् । उनकाे धर्मभक्त प्रत्यारोपण केन्द्रमा कार्य, केन्द्रको भविष्यको योजना र विस्तार आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजका लागि प्रधान सम्पादक सुभाष कुँवर र सम्पादक मनोजराज रेग्मीले सँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको संम्पादित अंश ।
तपाईले यस संस्थाको कार्यकारी निर्देशक पद सम्हाल्नुभएको कति भयो ? अहिले अंग प्रत्यारोपणको अवस्था कस्तो छ ?
म स्थापनाकालदेखि नै यो संस्थासँग जोडिएको छु । यो संस्थालाई शुन्य देखि यो अवस्थासम्म ल्याउने काममा विशेष भूमिका खेलेको छु । संस्थाले १० औं वर्षको वार्षिकोत्सव पुरा गरेको छ । बीचमा करिब डेढ वर्षदेखि म यो संस्थाबाट अलग्ग रहें । संस्थाको जन्मदेखि अहिलेसम्मको मूल्याकंन गर्ने हो भने यो संस्थाले उदाहरणीय काम गरेको भन्ने मलाई लाग्दछ । हामी यो संस्थामा शुन्यदेखि शुरु गरेर मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण लगायतका अन्तर्राष्ट्रिय स्तरको उपचार यहाँ उपलब्ध छ । नेपालमा प्रत्यारोपणको कार्यमा मैले केन्द्रविन्दुकै रुपमा काम गरिरहेको म जानकारी गराउन चाहन्छु ।
दैनिक कति जति प्रत्यारोपण सम्बन्धी रोगीहरू आउने गर्छन् ?
दैनिक २५० जति प्रत्यारोपण सम्बन्धी वा त प्रत्यारोपण गरिसकेका मानिसहरु आउने गर्दछन् । साथै प्रत्यारोपण गर्न तयार रहेका मानिसहरु पनि आउने गर्दछन् ।
यस केन्द्रले कुन कुन अङ्ग प्रत्यारोपण सम्बन्धी उपचार गर्ने गरेको छ ?
यसले विशेष गरेर मिर्गौला प्रत्यारोपण बढी गर्ने गरेको छ । विगत १० वर्षभित्रमा हामीले ९३० जनाको मृगौला प्रत्यारोपण गरिसक्यौं । कलेजो प्रत्यारोपणको शुरुआत पनि यसै केन्द्रबाट भएको हो । हामीले अहिलेसम्म ९ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छौं ।
सरकारले यस केन्द्रलाई कसरी मद्दत गरेको छ ?
यो सरकारी स्वायत्त संस्था हो र यो स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय हो । त्यसैले यहाँको सम्पूर्ण क्रियाकलाप हामी मन्त्रालय मातहत नै गर्दछौं । सरकारले आर्थिक रुपमा पूर्ण रुपमा सघाएको छ र आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराएको छ । औजार उपकरणका सन्दर्भमा पनि हामी अत्याधुनिकबाट सुसज्जित छौं । हाम्रो अभाव भनेको स्थान अभाव हो । हाम्रो संस्था जुन बिल्डिङमा छ त्यो भवन यो संस्थाको होइन । भक्तपुर अस्पतालको स्वामित्व भएको यो भवन हो । हाम्रो आफ्नो भवन छैन । उपयुक्त जग्गामा यो संस्थाको लागि छुट्टै भवन आवश्यक छ । सरकारले यसमा कोशिस गरिराखेको छ । सरकारले डीपीआरको तयारी गरिराखेको छ । हामीले उपयुक्त ठाउँको खोजि गरिरहेका छौं ।
यस केन्द्रले अङ्ग प्रत्यारोपण सम्बन्धी कति संख्यामा विशेषज्ञ उत्पादन गरेको छ ?
यस केन्द्रले अहिलेसम्म १० जना सर्जन, १० जना फिजीसियन र ५ जना जति एनेस्थेसिया क्रिटिकल केयरको डाक्टर उत्पादन गरेको छ भने डायलिसिसको लागि नर्सिङ स्टाफ १५० जना जति उत्पादन गरेको छ । देशभरिका विभिन्न केन्द्रमा यस केन्द्रबाट बहिनीहरु पुगेर प्रशिक्षण दिएका छन् भने आइसीयु र ओटीको लागि ५० जना नर्सहरुलाई तालिम दिएको छ ।
आर्थिक स्थिति कमजोर भएका रोगीहरुलाई यस केन्द्रले कसरी सहयोग गर्दछ ?
यो केन्द्र प्रत्यारोपण र डायलिसिस निशुल्क हुने ठाउँ हो । त्यसैले विपन्न नागरिकको लागि मृगौला प्रत्यारोपण र डायलिसिस पूर्ण रुपमा निःशुल्क छ । यो बाहेक अरु सेवाहरु जस्तो मृगौलाको पत्थरी, पित्तथैलीको पत्थरी लगायतका अरु अप्रेसनमा यसले न्यूनतम शुल्कमा सेवा दिने गर्दछ । हामी उच्चतम उपकरण प्रयोग गरेर सेवा दिन्छौं ।
अस्पतालका रोगीहरुलाई डायलासिस र प्रत्यारोपण पछि के कस्ता सुविधा दिने गरेको छ ?
प्रत्यारोपणपछि नेपाल सरकारले १ लाख रुपियाँ औषधि खानको लागि दिन्छ । हालै नेपाल सरकारले घोषणा गरे अनुसार मासिक ५ हजार दिने भन्ने छ, त्यो पनि चाँडै प्राप्त होला । प्रत्यारोपण गरेर गैसकेपछि हामी नियमित परिक्षण गर्दछौं, उहाँहरुलाई परामर्श गर्दछौं । उहाँहरुले औषधि नियमित खानुपर्ने, विभिन्न संक्रमणबाट जोगिनुपर्ने आदि इत्यादि कुराहरुको लागि निरन्तर उहाँहरुको सम्पर्कमा बसेर उहाँहरुलाई हामी सचेत गराउँछौं ।
अङ्ग प्रत्यारोपण पछि बिरामीहरुको जीवनशैलीमा के कस्ता ध्यान पुर्याउनुपर्दछ र कस्तो जीवनशैली अपनाउनुपर्दछ ?
प्रत्यारोपण पछि बिरामीहरुले विभिन्न कुराहरुमा विशेष ध्यान पु¥याउनुपर्दछ । जस्तो जुन रोगले अंग फेल भएको हो जस्तो मधुमेहले अंग फेल भएको हो भने अंग प्रत्यारोपण गरेपछि मधुमेहलाई नियन्त्रणमा राख्न पूर्ण रुपमा सचेत हुनुपर्दछ । त्यसैगरी ब्लडप्रेसरले अंग फेल भएको हो भने ब्लडप्रेसरलाई नियन्त्रणमा राख्नुप¥यो । जे कारणले भएको हो त्यो कारणको उपचार गर्नुपर्यो र त्यो कारण नदोहोरियोस् भनेर आवश्यक सावधानी अपनाउनुप¥यो । अर्को कुरा कुनै कुनै रोगहरु हाम्रो वशमा हुँदैन । जस्तो शरीरभित्रैको रोग जुन रोगमा हाम्रो कुनै नियन्त्रण हुँदैन । जस्तो आइजीएनएफ भन्ने हुन्छ, एफएसजी भन्ने रोग शरीरभित्रको रोग हो, हाम्रो इम्युनिटीले नै जन्माएको रोग हो, त्यस्तो रोग छ भने नयाँ मृगौलालाई पनि त्यसले आक्रमण गर्दछ । त्यसको रोकथाम हामीले निकै कम मात्र गर्न सक्छौं ।
एउटा मस्तिष्क मरण भएको व्यक्तिबाट ८ व्यक्तिको ज्यान बचाउन सकिन्छ भन्दछन्, यसबारे केही प्रकाश पारिदिनुहुन्छ कि ।
यो एकदम राम्रो प्रश्न सोध्नुभयो । नेपालमा सडक दुर्घट्ना अति नै हुने गर्दछ । १५०० देखि २००० जनाको सडक दुुर्घटनामा मृत्यु हुन्छ र १००० जना जतिको दुर्घट्नामा मस्तिष्क मृत्यु हुन्छ । मस्तिष्क मृत्यु भनेको टाउकोमा गम्भीर चोटपटक लागेर उपचार गर्दा सम्भव नभएर उपचार असफल हुनु हो । त्यसपछि मस्तिष्कले सम्पूर्ण रुपमा कार्य गर्न बन्द गर्दछ । मस्तिष्क नफर्कने गरि ड्यामेज भयो भने त्यसलाई मस्तिष्क मृत्यु भन्छ । त्यसको वैज्ञानिक हिसाबले विभिन्न परिक्षण गर्नुपर्दछ । वैज्ञानिक परिक्षण गर्दा मस्तिष्क मृत्यु ठहरियो भने त्यस्तो व्यक्ति जसको मस्तिष्क मृत्यु भएको छ, उनीहरुको अरु अंगहरु जस्तो मुटु, फोक्सो, कलेजो, मिर्गौला, प्याक्रियाज, सानो आन्द्रालगायतका अंगहरु केही समयसम्म चलिरहन्छ । मस्तिष्क मृत्यु भएपछि अरु अंगहरु पनि क्रमशः मृत्यु हुँदै जान्छ । अरु अंगहरु मृत्यु हुनुभन्दा अगाडि बाँचिरहेको अवस्थामा ती अंगहरु निकालेर दान दिइयो भने अरु मानिसहरुलाई बचाउन सकिन्छ । अरु मिर्गौला वा अरु अंगहरु फेल भएको व्यक्तिलाई प्रत्यारोपण गरेर ज्यान बचाउन सकिन्छ । यसको मतलब मस्तिष्क मृत्यु भएको तर अरु अंग मरिनसकेको अवस्थामा ती अंगहरु निकालेर प्रत्यारोपण गर्न सकिन्छ । त्यसरी प्रत्यारोपण गर्दा दुईवटा मृगौला, दुईवटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्याक्रियाज र एउटा सानो आन्द्रा ८ जना व्यक्ति जसको अंग फेल भएको छ उनीहरुलाई दिएर उनीहरुले पुर्नजीवन पाउन सक्दछन् । उनीहरुले यी अंगहरु पाउनु भनेको अरु व्यक्ति जत्तिकै त्यत्तिकै उत्पादनशिल, त्यत्तिकै स्वस्थ, जीवनको गुणस्तरमा पनि वृद्धि गरेर जीवनयापन गर्न पाउनु हो । उनीहरुले दैनिक जीवनका क्रियाकलापहरु जस्तो खानपीन लगायत व्यापार व्यवसाय गरेर सक्रिय जीवन जिउन पाउने भए । समाजको लागि भार भएन, उत्पादनशिल नागरिक भयो । त्यसैले मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग प्रत्यारोपण गर्नु अति नै आवश्यक छ किनभने त्यो मरिसकेको शरीर अहिले खरानी भएर गएको हुन्छ वा गाडेर सिद्धीन्छ । यदि हामीले अंगहरु दान दियौं भने यो भन्दा पूण्य काम अरु केही पनि छैन जस्तो लाग्दछ ।
यस केन्द्रको बारेमा सबैलाई थाहा दिन के कस्ता प्रचारमुखी कार्यक्रमहरु गरिएको छ ?
जनसाधारणलाई राम्रो जानकारी नभए पनि बिरामीहरुलाई त यो केन्द्रको बारेमा राम्रै जानकारी छ । मेचीदेखि महाकालीसम्मका नेपाली दाजुभाइहरु यहाँ मृगौला र कलेजो प्रत्यारोपण गर्न आउनुहुन्छ भने विदेशका पनि सबै जस्तो देशबाट विशेष गरेर गैर आवासीय नेपालीहरु अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, अरब देश सबै ठाउँबाट यहाँ आउनुहुन्छ र उपचार गरेर फर्कनुहुन्छ । तर मैले कसरी हेरेको छु भने यो देशको एउटा मात्र प्रत्यारोपण केन्द्रले देशको माग धान्छु भन्नु चाहिं सर्वथा गलत हुन्छ । तथ्याकं अनुसार वर्षको ३००० जना मानिसहरुको वार्षिक रुपमा मृगौला फेल हुन्छ तर हामीले वार्षिक रुपमा जम्मा २०० जनाको मात्र मृगौला प्रत्यारोपण गर्दछौं । २०० जनाको मृगौला प्रत्यारोपण गरेर ३००० जनाको माग थेग्छु भन्नु त सर्वथा गलत हो । त्यसैले यो केन्द्रले आफैले मात्र गरेर सक्दैन । यो केन्द्रले सबै प्रदेशका मुख्य अस्पतालहरुमा तालिम दिएर तिनीहरुलाई सक्षम बनाएर, अस्पतालको पूर्वाधार विकासको लागि हामीले पनि योगदान गरेर सरकारलाई गुहारेर यसको सेवा ७ वटै प्रदेशमा विस्तार गर्नुपर्दछ भन्ने हाम्रो योजना छ । पोखरामा हामीले मृगौला प्रत्यारोपण शुरु गरिसकेका छौं । हिजो मात्र हामी सुर्खेत र धनगढीमा गएर आएका छौं यसैको विस्तारको लागि । सुर्खेतमा निकट भविष्यमै हामीले मृगौला प्रत्यारोपण गर्नेछौं, त्यहाँ इजाजतको प्रतिक्षामा छौं । धनगढीमा हामीले सम्झौता पत्रमा हस्ताक्षर गरेर आएका छौं । त्यो हुने बित्तिकै हामीले त्यहाँको पूर्वाधारलाई तालिम दिनेछौं । यसै आर्थिक वर्षमा प्रत्यारोपण गर्ने योजना छ । त्यसपछि हामी हेटौडामा, विराटनगरमा, जनकपुर वा वीरगंज कहाँ हुन्छ, यसरी सबै प्रदेशमा हाम्रो प्रत्यारोपण विस्तार गर्ने योजना छ । यो केन्द्रले मात्रै हामीहरु सबै गर्दछौं भनेर असम्भव कुरा गर्नुभन्दा विभिन्न ठाउँमा यस क्षेत्रको कार्य विस्तार गरेर विभिन्न ठाउँमा छरिएर रहेका नेपाली दाजुभाइहरुलाई सेवा दिने हाम्रो लक्ष्य हो ।
अंग दान प्रक्रियामा लैङिगक भेदभावले कस्तो रुप लिएको छ ?
लैङ्गीक भेदभावको कुरा गर्ने हो भने यसमा चरम भेदभाव छ । यसमा हामी आफूलाई केटा मान्छे भन्न पनि लाज लाग्दो छ । हाम्रो जस्तो १००० जना अंगदानमा ८० प्रतिशत दाताहरु महिला हुन्छन्, अनि ८० प्रतिशत अंग ग्रहणकर्ताहरु पुरुष छन् । जस्तो आमाले छोरालाई दिइ हाल्छिन्, श्रीमतीले श्रीमानलाई दिईहाल्छिन् । तर श्रीमानले श्रीमतीलाई दिनुप¥यो भने धेरै गाह्रो हुने, छोराले आमालाई दिनुप-यो भने पनि गाह्रो हुने, यस्तो खालको भेदभावपूर्ण अवस्था छ । रोग त झण्डै झण्डै बराबर लाग्दछ । तर पुरुषलाई प्रत्यारोपण गर्न धेरै नै अग्रसर, धेरै नै मौका पाउने, महिलाहरु पहुँचबाट विमुख हुनुपर्ने अवस्था छ । अंगदान गर्दा महिलाहरु त्यागी, अंगदान गर्न उहाँहरु तयार हुनुपर्ने, यो अलिकता नमिल्दो देखिएको छ । यो त सरासर शोषण भयो यसको अन्त्य हुनुपर्दछ ।
भगवानले हामी सबैलाई दुईवटा मृगौला दिएको छ र एउटा मृगौला भए हाम्रो स्वस्थ जीवनयापनको लागि पर्याप्त हुन्छ । त्यसो भएको हुनाले एउटा मृगौला दान गर्दा जसको मृगौला फेल भएको छ आफ्नो परिवारभित्र उसले स्वस्थ जीवन बिताउन पाउँछ, परिवार र समाजको लागि भार नहुने भयो । उनी आफू सक्षम नागरिक भई आर्थिक र सामाजिक हिसाबले पनि केही गर्न सक्ने भयो । दुईवटा मृगौला आफ्नो छ भने परिवारको सदस्यलाई प्रत्यारोपण गराइएन भने त्यो बिरामी परिवारमा भए सम्म सबै परिवारका सदस्यहरु अस्वस्थ सरह हुन्छ । तर प्रत्यारोपण ग¥यो भने दातालाई पनि राम्रो हुने हुन्छ । हाम्रो अहिले सम्मको अनुभवमा दातालाई सत्प्रतिशत राम्रो भएको छ, मृगौला ग्रहणकर्ता ९९ प्रतिशतभन्दा बढी सफल भएको छ । यस्तो राम्रो अवसर छ, मौका छ, रिजल्ट छ, यस्तो अवस्थामा पुरुषले नदिने, लिने मात्रै र महिलाले मात्रै दिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ । श्रीमतीलाई माइतीतर्फबाट साला सालीको ल्याएर दिनुपर्ने, यस खालको संस्कार र मानसिकता सरासर गलत हो, यसलाई हामीले परिवर्तन गर्नैपर्दछ ।
केन्द्रले के कस्ता चुनौतीको सामना गर्नुपरेको छ ?
अंग फेल भएका बिरामीहरुको ठूलो भिडभाड छ । हामीले दिनमा डेढ सय जनाको डायलिसीस गर्दछौं, तर ५०० जना जति पर्खाईमा बसेका छन् । प्रत्यारोपण वर्षको २०० जना गर्दछौ तर अहिले पनि ५०० जना जति प्रत्यारोपणको लागि पालोको लागि पर्खिरहेका छौं, अझै १००० जना थपिनेवाला छन् । यो माग र आपूर्तिबीचमा जुन खाडल छ यो केन्द्रको लागि ठूलो चुनौती हो । यो केन्द्रको विस्तार तत्कालै गरिनुपर्दछ । अहिले १०० बेडको छ, यसलाई ३०० वा ५०० बेडको बनायौं भने अझ बढी संख्यामा मृगौला फेल भएका व्यक्तिहरुको उपचार गर्न सक्दछौं । कलेजो प्रत्यारोपणको लागि बेड छुट्याउन सक्दछौं । मुटुको उपचारको लागि बेड छुट्याउन सक्छौं भने हाम्रो सेवामा धेरै ठूलो विस्तार हुने अवसर पाउँछ । अर्को भनेको स्थानको अभाव । यो हाम्रो भवन पनि होइन । प्रशस्त यो केन्द्रलाई पुग्ने जग्गा सरकारले उपलब्ध गराइदिनुपर्दछ र त्यसमा ५०० बेडको प्रत्यारोपण केन्द्र बन्नुपर्दछ ।
यस केन्द्रको विस्तारको लागि भावी के कस्ता रणनीति तथा योजना तयार गरेको छ ?
यो आर्थिक वर्ष नेपाल सरकारले यो केन्द्रलाई उच्च स्तरको जनशक्ति उत्पादन गराउने प्रतिष्ठान बनाउन र यस केन्द्रलाई व्यापक विस्तार गर्ने भनेर राष्ट्रपतिबाट र अर्थमन्त्रीज्यूबाट घोषणा भएको छ । यो केन्द्रको विस्तार गर्नुछ र यसलाई भौतिक पूर्वाधार केन्द्रको रुपमा लैजानुछ । ५०० बेडको प्रत्यारोपण संस्था बनाउने योजना छ । त्यसैगरी जनचेतना अभावको कुरा छ जुन अंगदान सम्बन्धी यो केन्द्रले नेतृत्व गरेर सबैलाई अंगदान गर्न प्रोत्साहित गर्ने जसले गर्दा नेपाली दाजुभाइ दिदीबहिनीहरु अंग फेल भएको कारणले मृत्यु हुन नपरोस् । एउटा कुरा यो केन्द्रको विस्तारमा लाग्नुपरेको छ, अनि व्यापक अंगदानको जागरुकता फैलाउनुपर्ने, मस्तिष्क मृत्यु भएकोबाट अंगदानको विस्तार गर्नुपर्दछ । देशभरि प्रत्यारोपणको जुन कुरा ग¥यौं त्यसको लाागि जनशक्तिको आवश्यकता पर्दछ । जनशक्तिको उत्पादन यो केन्द्रबाट हुन सक्दछ, यसलाई पोस्ट ग्रजुअट इन्स्टिच्युट बनाएर चाँडै नै जनशक्ति उत्पादन गर्न पाइयो भने यसको विस्तार गर्न सक्यौं हामी असल अर्थमा सफल भएको मानिन्छ । केन्द्रले आफैले मात्रै जति सेवा दिन्छु भने पनि सम्भव छैन । दुइवटा कुरा एउटा पोस्ट ग्रयाजुएशन एकडेमी बनाउने, अर्को यो केन्द्र आफैलाई विस्तार गर्ने र विभिन्न प्रदेशहरुमा विस्तार गर्नु पनि अति आवश्यक कुरा हो ।
प्रतिकृया