सरकारले कर बढाउँदा बिजुली गाडी चढ्ने सपना पूरा भएन: हरिवंश आचार्य
प्रकाशित मिति
२०७९ भाद्र १८ गते, शनिबार ०३:५९
१८ भाद्र २०७९, काठमाडौं: वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्युतीय सवारीको कर बढाइरहेको टिप्पणी गरे। विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको उनको गुनासो छ। वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बिवाईडी गाडीले ब्राण्ड एम्बास्डर बनाएको छ। मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ। त्यो सपनाको लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ। तर, बजेट भाषणले गर्दा मैले जुन गाडी चढ्न पाउने सपना थियो, त्यो गाडी अहिले आइरहेको छैन।’
वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको उर्जा बेचेर नभइ विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताए।
प्रतिकृया