• ११:०१ २०८१ बैशाख ४ गते
  • 11:01 am

कृषि सामाग्री कम्पनीले धमाधम मल ल्याउँदै

प्रकाशित मिति

२०७९ भाद्र १८ गते, शनिबार ११:५३

krishi samagri company logo e1662185326103

१८ भाद्र २०७९, काठमाडौं: समयमा रासायनिक मल ल्याउन नसकेर आलोचित हुने गरेको कृषि सामाग्री कम्पनी पछिल्लो समय भने काममा तीव्रता दिएको छ। सामाग्री कम्पनीले साउन पहिलो सातादेखि असोज मध्य सातासम्मको अवधिमा करिब १ लाख मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको छ । कम्पनीका महानिर्देशक राजेन्द्र कार्कीका अनुसार ३० हजार मेट्रिक टन मल साउन १० गतेदेखि आउन थालेको थियो । जुन, अहिले देशभर वितरण भइरहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन मल भारतको विशाखपटनममा आएर बसेको छ।


उक्त मल नेपाल ल्याउनका लागि रेलको र्‍याकको पखाईमा छ। र्‍याक पाउनासाथ उक्त परिमाणको मल नेपाल आउने कम्पनीका महानिर्देश कार्कीले बताए। कम्पनीले ६० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डीएपी गरेर १ लाख मेट्रिक टन मल असोज मध्य सातासम्ममा ल्याउने लक्ष्य लिएको बताए।


कृषि सामाग्री कम्पनीले आह्वान गरेको ग्लोबल टेन्डरबाट स्विस सिंगापुर कम्पनीले मल ल्याउने ठेक्का हात पारेको थियो। सोही ठेक्का अनुसार कम्पनीले सिपिङ गरेको २८ दिनको अवधिमै विशाखपटनम बन्दरगाहमा मल ल्याइपुर्‍याएको हो । ‘यसअघि आएको ३० हजार मेट्रिक टन युरिया मल ८०३ डलर प्रतिमेट्रिकटनमा किनिएको हो,’ महानिर्देशक कार्कीले भने, ‘हाल विशाखपटनममा आइपुगेको ३० हजार मेट्रिक टन मल ६९३ डलर प्रतिमेट्रिकटनमा किनिएको हो ।’


अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य घटबढका कारणले दुई वटा ठेक्काको मूल्य फरक–फरक भएको कार्कीले बताए । ‘अघिल्लो लटको मल ल्याउनेक्रममा ठेक्का आह्वान गर्दा युरियाको मूल्य बढी थियो,’ कार्कीले भने, ‘दोस्रो लट ल्याउँदा घटेर ६९३ डलर प्रतिमेट्रिक टनमा आइपुग्यो ।’ यस्तै, नेपाली सप्लाएरको सट्टा विदेशी सप्लायरले ठेक्का पाउँदा समेत सहजै नेपालमा मल भित्रिएको कम्पनीको भनाइ छ ।

प्रतिकृया