म्यानमार सैन्य अदालतले सुकीलाई सुनायो थप तीन वर्षको जेल सजाय

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०३:३८

suki

१७ भाद्र २०७९, लन्डन : म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई चुनावी धाँधलीको आरोपमा थप तीन वर्षको जेल सजाय सुनाएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार म्यानमारकी पूर्वनेतृ सुकीलाई अहिले ११ वटा मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो । जसमा अझ धेरै आरोपहरूबारे सुनुवाइ हुन बाँकी छ ।


तर, उनले सबै आरोपहरू अस्वीकार गर्दै आएकी छन् । उनीविरुद्धको सैन्य अदालतको कारबाहीलाई अधिकार समूहहरूले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् ।


लागेका सबै आरोपमा दोषी ठहरिएमा उनले लगभग २०० वर्ष जेल सजाय भोग्नु पर्ने हुनसक्ने समाचारमा उल्लेख छ । सुकीले पाएको नयाँ सजायमा कडा परिश्रम समावेश भएको उनका वकिलहरूले बताएका छन् । नोबेल पुरस्कार विजेतासमेत रहेकी ७६ वर्षीया सुकीले आफ्नो अधिकांश समय राजधानी नेपी तावमा नजरबन्दमा बिताएकी छन् ।


उनविरुद्धको सुनुवाइमा जनता र मिडियालाई पहुँच छैन । सेनाले उनका वकिलहरूलाई पत्रकारहरूसँग बोल्नसमेत रोकेको बीबीसीले जनाएको छ ।

प्रतिकृया