• १०:३२ २०८० चैत्र १६ गते
  • 10:32 am

इच्छाराज तामाङसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार १२:१४

iccha raj tamang

१७ भाद्र २०७९, काठमाडौं: सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उनकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनकी पत्नी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।


सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता ऋषिराम पोखरेलले तामाङले तीन अर्ब ३१ करोड रुपियाँ ठगी गरेको पाइएको बताए। यसैगरी सोही प्रकरणमा तामाङकी श्रीमती सिर्जना शाक्यले एक अर्ब तीन करोड रुपियाँ अपचलन गरेको पाइएको छ ।


तामाङका छोरीहरू प्रतीक्षाले छ करोड २२ लाख र प्रतिशाले एक करोड ८९ लाख रुपियाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको छ । यसैगरी विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपियाँ सम्पत्ति शुद्धीकरण गरेको पाइएको छ । विभागले आरोपी सँग चार अर्ब ७० करोड १३ लाख बिगो माग गरी मुद्दा दायर गरेको छ ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा तामाङले सहकारीबाट सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकम मनोमानी रूपमा प्रयोग गरी पाँच अर्ब ६७ करोड ५५ लाख रुपियाँ अपचलन गरेको पाइएको थियो ।

प्रतिकृया