पहिरोले पाल्पा–बुटवल सडक फेरि बन्द, यात्रु अलपत्र

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ११:११

palpa

१७ भाद्र २०७९, काठमाडौँ: सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड फेरि बन्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर वर्षाका कारण मुख्य सडक भासिँदा यातायात अवरुद्ध भएको हो। गएराति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ। बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्ण रूपमा बन्द भएको थियो।


राति केही समय एकतर्फी गाडी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि पुनः ठप्प भएको जिल्ला प्रहरी कार्यालय (पाल्पा) ले जनाएको छ। माथिबाट पहिरो खस्ने क्रम जारी छ। वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ।


यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। अहिले पनि पानी परिरहेको छ। पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुस्किल भएको छ। पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्यालय (पाल्पा) ले जनाएको छ।

प्रतिकृया