हालान्डको ह्याट्रिकमा सिटीको फाराकिलो जित

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०८:१४

halland yzHPKr0bJG scaled

१६ भाद्र २०७९, काठमाडौँ : एर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले नटिङहम फरेस्टलाई ६–० को गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन हालान्डले ह्याट्रिक गरे । त्यस्तै जुलियन अल्भारेजले दुई गर्दा जोआओ क्यान्सेलोको नाममा एक गोल रह्यो ।


सिटीले खेलको १२औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । २३औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीले ३–० गोलको अग्रता बनायो । हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन् । पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।


५०औं मिनेटमा क्यान्सेलोले गोल गर्दै सिटीको अग्रता ४–० को बनाए । ६५औं मिनेटमा अल्भारेजले सिटीका लागि पाँचौं गोल गरे । ८७औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गर्दै सिटीलाई ६–० गोलको जित दिलाए । जितसँगै सिटीले ५ खेलबाट १३ अंक जोडेको छ । सिटी तालिकाको दोस्रो स्थानमा छ । पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिकृया