• १०:४३ २०८१ बैशाख ४ गते
  • 10:43 am

५ वर्षमा विद्युत खपत ३ गुणाले बढ्यो

प्रकाशित मिति

२०७९ भाद्र २ गते, बिहीबार १०:२८

kulman ghishing

२ भदौ २०७९,काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए ।


‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ यो सफलता प्राधिकरणको आन्तरिक म्यानेजमेन्टले मात्रै नभइ विद्युत खपत बढाउने योजनाअनुसार नै भएको उनको भनाइ छ ।


यस अवधिमा विद्युत खपत बढाउनका लागि धेरै ठाउँमा पूर्वाधार बनाइएको छ । ट्रान्समिसन लाइन र विद्युतीय सवारीको प्रयोग बढाउने विषय पनि उठाइएको छ । ‘प्रत्येक वर्ष २५ प्रतिशतसम्म खपत बढ्नु ऊर्जा क्षेत्रमा ठूलो प्रगति हो,’ उनले भने । वि.सं. २०४१ सालमा स्थापना भएको थियो ।


यसैगरी, गत आर्थिक वर्षमा प्राधिकरणको नाफा बढेर १६ अर्ब रुपैयाँ पुगेको छ । भारत सरकारबाट ३६४ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । जसले प्राधिकरणको नाफालाई उल्लेख्य सहयोग गर्यो । ‘यसले भारतीय बजारमा नेपालको पहुँच बढाएको छ,’ घिसिङले भने, ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै विदेशी मुद्रा सञ्चिति भइ राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । आगामी वर्षहरूमा थप बिजुली निर्यात गर्ने लक्ष्य लिइएको छ ।’


गतवर्ष प्राधिकरणको नाफा इतिहासकै उच्च हुनुमा माथिल्लो तामाकोसीको मूख्य भूमिका छ । यस्तै, भारतबाट हुने आयात घट्नु र भारततर्फको निर्यात बढ्दा समेत उक्त मुनाफा आर्जन गर्न सफल भएको घिसिङले जनाएका छन् ।

प्रतिकृया