उपराष्ट्रपतिद्वारा मध्यपुर थिमिको लाय्कु भैल: प्याखँ अवलोकन
प्रकाशित मिति
२०७९ श्रावण २९ गते, आईतवार ०५:२६
२९ साउन २०७९ काठमाडौं: मध्यपुर थिमिमा भैल प्याख: (भैरव नाच) सुरु भएको छ । शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनले भैल प्याखस्को अवलोकन गरेका छन् । शनिबार साँझ लाय्कुबाट निक्लिएको नाच बालकुमारी मन्दिर प्राङ्गणमा उपराष्ट्रपति पुनलाई अवलोकन गराएको थियो । यससंगै उपराष्ट्रपति पुन ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अवलोकन गर्ने पहिलो विशिष्ठ व्यक्ति भएका छन् । त्यतिमात्र होइन, मध्यपुर थिमि नगरमा औपचारिकरुपले आउने पुन तत्कालीन राजा महेन्द्र पछि दोश्रो विशिष्ठ व्यक्ति समेत बनेका स्थानीयले बताएका छन् । राजधानीसंग जोडिएको नगर भएपनि विशिष्ठ व्यक्तिहरुको नजरमा नपरेको लाय्कु भैल: प्याखँको उपराष्ट्रपति पुनले अवलोकन गरेकोप्रति स्थानीय दङ्ग देखिएका थिए।
उपराष्ट्रपति पुनले करिब १ घण्टा मध्यपुर थिमिको वडा नम्बर ४ स्थित बालकुमारी मन्दिर प्रांगणमा रही भैरव नाच अभिरुचिपूर्वक अवलोकन गरेका थिए । आयोजकले स्टेजको व्यवस्था गरेको भएतापनि त्यहाँबाट हेरेर चित्त नबुझेपछि आम मानिस जस्तै उनले तलै ओर्लेर दर्शकसंगै बसी देवीदेउताको नाच अवलोकन गरे । लाय्कु भैल: प्याखँप्रति स्थानीयको श्रद्धा देखेर आनन्दित उपराष्ट्रपति पुनले प्याखँ इतिहासले दिएको सम्पत्ति भएकाले जोगाइराख्नपर्नेमा जोड दिएका नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए ।
मध्यपुर थिमि नगरपालिकाको निमन्त्रणामा पहिलोपल्ट उच्च पदस्थ व्यक्तिद्वारा भैल प्याखस्को अवलोकन गरिएको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए । करिब चार दशकसम्म सञ्चालन हुन नसकेको भैल प्याखस् जनप्रतिनीधिले स्थानीय तहको नेतृत्व सम्हालेपछि स्थानीयको पहलमा सुरु भएको हो । यसअघिको दुई वर्ष कोभिड १९ महामारीका कारण सञ्चालनमा आउन सकेन ।
तान्त्रिक विधिपूर्वक नचाइने भैल प्याखस् देखाएमा भुतप्रेतले दुस्ख नदिने, मूलुकमा शान्ति हुने जनविश्वास छ । भैल प्याखस् गाईजात्राको भोलिपल्टदेखि ४ दिन प्रत्येक साँझ देखि अबेर रातीसम्म देखाइन्छ । यस नाचमा दुई भैरव, दुई डागीं, र एक ज्यापुंग सहित ५ जनाको देवगण समावेश हुन्छ । यसमा धां बाजा, मुहाली, भुस्या, पोङगा, तास् लगायतका बाजा बजाइन्छ । साँझ मध्यपुर थिमिको बालकुमारीदेखि चपाचो सम्मका विभिन्न टोलटोलमा भैल प्याखस् प्रदर्शन गर्ने गर्ने प्रचलन छ ।
प्रतिकृया