• 9:54 pm

मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति

२०७९ श्रावण २३ गते, सोमबार ०४:३०

२३ साउन २०७९ काठमाडौं: संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।


समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् ।सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ । देशका मुख्य सडकहरुमा बाढी पहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि समितिले निर्देशन दिएको छ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न समितिले निर्देशन दिएको छ ।


‘सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्कालपहिरो हटाउन समिति भौतिक तथा ऊर्जा मन्त्रालयलाई निर्देशन गर्दछ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरउन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीव्र रुपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्देशनमा भनिएको छ ।


सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानुन ल्याउन सरकारलाई निर्देशन दिइन् ।

प्रतिकृया