• 5:07 pm

नेप्सेमा उछाल कायमै,परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०५:००

१५ साउन २०७९, काठमाडाैंः साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको छ । नेप्से २.५५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ९.७२ अंकले बढेर ४१९.२० विन्दुमा पुगेको छ ।


कूल २२० वटा कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज फाइनान्स बाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनीको सेयर बढेको छ । लगातार फाइनान्स र हाइड्रोप्रति आकर्षित लगानीकर्ता यतिबेला बीमा कम्पनीमा सिफ्ट भएका छन् । जुन कुरा आजको नेप्सेको तथ्यांकले पुष्टि गर्दछ ।


आइतबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ३४ लाख १६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा प्राय जसो इन्स्योरेन्स नै छन् । यस दिन १२ प्रतिशत गुडविल फाइनान्स डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३.९४ प्रतिशतले घटेर एक हजार ७४ रूपैयाँमा झरेको छ ।

प्रतिकृया