अनेक विवादका बीच धरान उपमहानगरको नगरसभा बैठक सम्पन्न
प्रकाशित मिति
२०७९ असार २४ गते, शुक्रबार १०:२२

२४ असार २०७९, काठमाडौंः धरान उपमहानगरपालिकाको ११ औँ नगरसभा विवादकाबीच विभिन्न समितिलाई पूर्णता दिँदै सम्पन्न भएको छ। दलहरूबीच आपसी सहमतिमा विभिन्न समिति बन्न नसक्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र केही स्वतन्त्र सदस्यहरूले बैठक छाडेर बाहिरिएका थिए। यद्यपि, त्यसपछि बैठकमा नेकपा एमाले र राप्रपाका सदस्य उपस्थित रहेका थिए।
बिहीबार नगरसभामा वडालाई दिइएको बजेट, विभिन्न उपसमितिबारे नगरसभामा छलफल भएको थियो। सोही क्रममा अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन गठन गर्ने विषयमा कुरा नमिल्दा ४३ जना सदस्यले जारी बैठक छाडेका हुन्।समितिमा एमालेबाट मात्र नाम सिफारिस गरिएकोमा आपत्ति जनाउँदै कांग्रेस, माओवादी, र केही स्वतन्त्र सदस्यले बैठक छाडेका थिए। ती दलबाट समेत समितिका लागि नाम सिफारिस गरिएको थियो। सहमतिमा समिति गठन नहुने भएपछि उनीहरू बैठक छाडेर निस्किएका थिए।
नगरसभालाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडासदस्य मिंग्मा भोटले विवाद र एमालेको दम्भका कारण विकासमा अवरोध भएको बताए। माओवादीतर्फबाट निर्वाचित सदस्य भोटेले दलहरूबीच आपसी सहमति बन्न नसक्दा आफ्नो दलबाट सिफारिस गरिएका नामसमेत फिर्ता लिनुपर्ने अवस्था आएको उनको भनाइ छ। समावेशीका आधारमा समिति बनाइनुपर्नेमा त्यसो हुन नसकोमा भोटेले आपत्ति जनाए।
४३ जना सदस्यले बैठक छाडे पनि विधायन समिति, न्यायिक समिति, सार्वजनिक लेखा समितिमा नेकपा एमालेका सदस्यसहित पूर्णता पाएको छ। उपमहानगरपालिकाका अनुसार विधायन समितिको संयोजकमा कृष्णबहादुर राई, सदस्यमा विजय राई, डे कुमारी विक, तारा तामांग, र राजेन्द्र न्यौपाने रहेका छन्। अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा ब्रह्मज्ञ भट्टराई, सदस्यमा झुमादेवी गुरुंग, समशेर बर्देवा, राजेशराज मोक्तान र पञ्चमी राई रहेका छन्।
उपमहानगरपालिकाको न्यायिक समितिमा झरना पौडेल र चुनु थापा चयन भए। यसअघि, उपमहानगरपालिकामा सम्पन्न नगरसभा पूर्व कार्यपालिका बैठकमा समेत सदस्यहरूबीच चर्काचर्की परेको थियो। स्वतन्त्रतर्फबाट निर्वाचित मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम वेघाको फरक फरक कोषको विषयमा विवाद भएको थियो।
वडाका प्रतिनीधिहरुले कोषको औचित्यबारे प्रस्टाउनु पर्नेमा जोड दिदै कोषमा राखिने रकममा आपत्ती जनाएका थिए। अन्ततः कार्यपालिका बैठकबाट मेयर उपमेयरको फरक फरक कोषको स्थानमा एउटै कोष बनाएर करिब १ करोड ७० लाख रुपैयाँ राखिने गरी सहमति भएको थियो। कार्यपालिका बैठकमा विवादले समय लिएपछि नगरसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन।
प्रतिकृया