माओवादीको बैठक तीन दिन चल्यो, पदाधिकारीको टुंगोचाहिँ दाहालले लगाउने
प्रकाशित मिति
२०७९ असार २३ गते, बिहीबार ०५:२२

२३ असार २०७९ काठमाडौंः नेकपा माओवादी केन्द्रको पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । काठमाडौंमा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि दाहाललाई पदाधिकारी चयनको जिम्मा दाहाललाई दिइएको हो । बैठकमा सम्बोधन गर्दै दाहालले पदाधिकारी चयन गर्नका लागि आफूलाई २/४ दिन समय मागेका थिए ।
दाहालले भने, ‘म सँग सूची सबै पदाधिकारीको छ । नाम वाचन गर्न त सक्छु तर मलाई भन्न नलगाउनुस् । २/४ दिनमा सबैको अनुहार उज्यालो हुने गरी चयन गर्छु।’
यस्तै बिहीबार नै गठन गरिएको स्थायी समितिका बाँकी सदस्य चयन गर्ने जिम्मा पनि दाहाललाई दिइएको छ । ४१ सदस्यीय स्थायी समितिमा नेकपाकालका १५ जनाको मात्रै नाम टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ । माओवादीले गत पुस महिनामा ८औं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी टुंग्याउन सकेको थिएन । माओवादीको केन्द्रीय समिति बैठक असार १९ गतेदेखि सुरु भएको हो । १९ र २० गते बैठक बसेर २१ र २२ गते स्थगित गरेर आज बसेको हो ।
प्रतिकृया