अर्थमन्त्री बर्खास्त गर्न तिब्र दबाब, आन्तरिक छलफलमा प्रधानमन्त्री
प्रकाशित मिति
२०७९ असार २१ गते, मंगलवार ०४:१३

२१ असार २०७९, काठमाडौंः एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई तिब्र दवाव परेको छ। प्रतिपक्ष दल देखि सत्तापक्षका नेताहरुले समेत अर्थमन्त्रीको बर्खास्तीका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।
नेकपा एमाले नेता एबं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धक जोगाउनकै लागि अर्थमन्त्रीको संरक्षण गरेको आरोप समेत लगाएका थिए।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत अर्थमन्त्रीलाई पदबाट हटाएर छानबिनको माग गरेका छन् । ‘अब अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेपछि, मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानु पर्छ। यत्रो संसदमा उठ्यो, बाहिर उठ्यो, हो होइन म जान्दिन, यो विषय उठिसकेपछी मैले बुझेको कि अहिले अर्थमन्त्रीले राजिनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहालाई हटाउनुपर्छ र तत्काल छानबिन गर्नुपर्छ’ थापाले भने ।
बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।
अहिले यो विषयलाई लिएर सामाजिक सञ्जालहरुमा समेत अर्थमन्त्री शर्माको चर्को आलोचना हुन थालेको छ।अर्थमन्त्रीका बिषयमा चौतर्फी दबाबमा परेपछि प्रधानमन्त्री देउवाले आन्तरिक छलफल सुरु गरेका छन्। ‘प्रधानमन्त्री यो बिषयमा एकदमै गम्भिर हुनुहुन्छ यस बिषयमा छिट्टै केहि निर्णय आँउला सत्ता गठबन्धनको सरकार भएकाले पनि एक्सन लिन केहि ढिला भएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।
प्रतिकृया