विश्वराजको विपक्षमा बहस गर्दै भीमार्जुनले भने– कार्यसम्पादन मूल्यांकन हेर्नु पर्दैन
प्रकाशित मिति
२०७९ असार १९ गते, आईतवार १२:५९

१९ असार २०७९,काठमाडौंः कानुन व्यवसायी भीमार्जुन आचार्यले प्रहरी महानिरीक्षक नियुक्तिमा कार्यसम्पादन मूल्यांकन हेर्न नपर्ने प्रस्ट पारेका छन् । प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको नियुक्ति खारेजीको माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा प्रतिवादीका तर्फबाट बहस गर्दै आचार्यले यस्तो बताएका हुन् ।
‘विश्वराज पोखरेलले मेरो कार्यसम्पादन मूल्यांकन धेरै छ भन्नु भएको छ, तर त्यो चाहिँदैन,’ आचार्यले भने, ‘पोखरेलमा म ज्येष्ठ भएकाले मै हुनुपर्छ भन्ने जबरजस्तीपना छ । एक दिन एआईजी भएको व्यक्ति पनि आईजी बन्न योग्य हुन्छ । उनले प्रहरी महानिरीक्षक नियुक्तिमा वरिष्ठता एक आधार हो भए पनि त्यो नै सम्पूर्ण आधार नभएको दाबी गरे । ‘कानुनले तोकेको अधिनमा रहेर सरकारले नियुक्ति गर्न नपाएपछि शान्तिसुरक्षा कसरी कायम गर्न सक्छ त ?,’ उनले प्रश्न गरे, ‘सरकारले धिरजलाई उपयुक्त देखेपछि विश्वलाई नियुक्त गर्छ त श्रीमान् ?’
प्रहरी महानिरीक्षक (आईजीपी) अंकको आधारमा होइन, उपयुक्तताको आधारमा नियुक्त हुने उनको तर्क छ । ‘निवेदकले आईजीपी हुन पाउनु वैध अपेक्षा हो भनेका छन् । वैध अपेक्षाको सम्बन्ध क्रियाकलाप र कर्मसँग जोडिन्छ,’ उनले भने, ‘एसएसपीबाट डीआईजी हुँदा वैध अपेक्षा खै त ? वीरेन्द्र बस्याललाई क्रस गरेर उहाँ डीआईजी हुनु भएको हो, त्यो बेला बस्यालको अपेक्षा खै त? विश्वराजले अहिले वैध अपेक्षा भन्नु लज्जाको विषय हो ।’ प्रहरीमा बस्दा प्रहरीको मूल्य, मान्यतालाई पालना गर्नुपर्ने आचार्यको भनाइ छ । ‘बिदा अस्वीकार भएपछि उहाँ नजानु उहाँको अटेरीपना हो,’ उनले भने ।
प्रतिकृया