नागार्जुृनमा दुई अर्ब २१ करोडको बजेट सभामा पेश

प्रकाशित मिति

२०७९ असार ११ गते, शनिबार ०४:०५

nagarjun 2 e1656152422416

 असार २०७९ काठमाडौंः  नागार्जुन नगरपालिकाले आगामी वर्षका लागि दुई अर्ब, २१ करोड तीन लाख, ८० हजार रूपियाँको बजेट नगर सभामा पेश गरेको छ । शुक्रबार सम्पन्न छैठौं नगरसभामा उक्त बजेट पेश भएको नागार्जुन नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले चालु खर्चका लागि ५१ करोड, १४ लाख, दश हजार र पुँजीगत खर्च एक अर्ब, ६९ करोड ८९ लाख ७० हजार रहेको नगर उपप्रमुख सुशीला अधिकारीले बताउनुभयो ।


नगर प्रमुख मोहनबाहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख बस्नेतले नगरपाकिालाई समृद्ध बनाउने गरी बजेट कार्यान्वयन हुने बताउनुभयो । भूउपभोग सम्बन्धि प्रचलित नीति तथा कानुनको अधिनमा रहि भूमी वर्गिकरण र भूउपभोग योजना तर्जुमा गर्ने, विशेष पकेट क्षेत्रको पहिचान गरी सामूहिक रुपमा कृषि उत्पादन गरी सहकारी र नीजी क्षेत्रमार्फत विक्री वितरण गर्ने नीति नगरपालिकाले बनाएको छ ।


कुहिनो फोहोरबाट कम्पोष्ट मल बनाइ नगरपालिका भित्र र बाहिर अरु पालिका वा जिल्लामा समेत सहकारी र निजी क्षेत्रमार्फत विक्री वितरण गर्ने नीति बनाएको छ ।



नगरपालिकाको आन्तरिक राजश्व बढाउँदै जाने, सकारात्मक सोच सहित नगरबासीको सन्तुष्टिको अभिबृद्धिका लागि विभिन्न उमेर समूह अनुसार खेलकुद, पार्क, मनोरञ्जन स्थल, योग मेरिटेशन स्थल, धार्मिक तथा तिर्थस्थलको विकास र विस्तार गर्ने, कृषि उत्पादकत्वमा वृद्धि र उद्यमशिलता प्रबद्र्धन गर्ने नीति बनाएको छ । रोजगारीको अवसर बढाउन प्राथमिकता पहिचान गरी सहजिकरण गर्ने, नगरबासीमा उत्तरदायि र जवाफदेहि सरकारको अनुभूति दिलाउने नीति नागार्जुन नगरपालिकाले बनाएको छ । निम्न आय भएका परिवारको पहिचा नगरी आधुनिक कृषि औजार वीउविजन वितरण गर्ने, भूउपयोग योजना अनुसार भूमीको वर्गिकरण गर्ने नीति बनाएको नगरपालिकाले जनाएको छ ।


त्यस्तै नगरपालिकाले विनियोजन विधयेक सभामा पेश गरेको छ । नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीका दिन बिदा दिने सर्वसम्मत निर्णय गरिएको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


सभामा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नगरपालिका स्थानीय सरकार भएकाले नगरपालिकाले स्थानीय सरकारको अनुभूति दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया