• १७:५३ २०८० चैत्र १५ गते
  • 5:53 pm

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष कार्की समूहको माग

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ०५:०३

Group e1655810313610

७ असार २०७९ काठमाडौंः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ। संगठनभित्रको विवादबारे स्पष्ट पार्न रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो।


कार्की समुहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो। उनीहरुले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटीको सदस्यहरुसँग पनि आफूहरुको माग पुर्याइसकेको जानकारी दिएका हुन्। संगठनका केन्द्रीय उपाध्यक्ष पवन कार्कीले सोचेको जति विद्यार्थी आन्दोलनले आजसम्म उपलब्धी हासिल गर्न नसकेको स्वीकार गर्दै विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल (क्रान्तिकारी) आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको गुनासो पोखे।


जनता बाँच्न नसक्नेगरि बढेको महंगी र मुल्यवृद्धिका विषय उठान गर्नुपर्ने संगठन नै आज अराजक गतिविधिमा रुमलिएको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने बताए। लामो समयदेखि आफ्नो संगठनमा समस्या आइरहेको भन्दै आज अध्यक्ष पञ्चा सिंहको कारण झन् अप्ठ्यारोमा परेको बताए। २२औं राष्ट्रिय सम्मेलन गत वर्ष असोज १४ देखि १८ सम्म बबलरमहलमा सम्पन्न भएको जानकारी दिँदै उक्त सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबरजस्ती निर्वाचित गरेको स्मरण गराए। उनले संगठनभित्र समस्याको सुरुवात २२औं सम्मेलनबाट भएको र तेस्रो विस्तारित बैठकबाट भने सबै विवाद र लफडा छताछुल्ल भएकोे बताए।


संगठनको २२औं सम्मेलनले एउटा अध्यक्ष निर्वाचित गरेर कुनै पदाधिकारी तोक्न नसकेकोमा आक्रोस पोख्दै उनले त्यतिबेला जबरजस्ती विधानविपरित कमिटी घोषणा गरेको बताए। उनले भने,‘त्यतिबेला जबरजस्ती विधानविपरित कमिटी घोषणा गरियो, हलका प्रतिनिधीहरुले विरोध गरे र संगठनको विधान लागू गर्न आग्रह गरे।’


महाधिवेशन प्रतिनिधिहरुले आफुहरुबाटै नेतृत्व चयन गर्ने अवसर प्रदान गर्न माग गर्दा उनीहरुको आवाज नै नसुनिएको उनको गुनासो छ। पछि अध्यक्ष सिंहले अवैधानिक रुपमा सामाजिक सञ्जाल फेसबुकमार्फत् केन्द्रीय कमिटी घोषणा गरेको उनले आरोप लगाए। ‘पञ्चा सिंहले अवैधानिक रुपमा सामाजिक सञ्जाल फेसबुकमार्फत् केन्द्रीय कमिटी घोषणा गर्नुभो, कुनै विधि, मापदण्डअनुसार होइन्, फेसबुकमार्फत् केन्द्रीय कमिटी सार्वजनिक गरे। हिजोका आयोजक समितिलाई ल्याउने राख्ने र नयाँ साथीहरुलाई अपडेट गर्ने कुनै मापदण्ड बनाइएन र उहाँसँग नजिक भएकाहरुलाई केन्द्रीय कमिटिमा पार्नुभयो, नभएका साथीहरुलाई छुटाउनु भयो, हटाउनुभयो, त्यतिबेला नै हामीले अवैधानिक छ भनेका थियौं।’


केन्द्रीय सदस्य बालकुमार केसीले संगठनले आयोजना गरेको २२औं राष्ट्रिय सम्मेलनको क्रममा बन्दसत्रको क्रममा समस्याको सुरुवात भएको विषयको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरिएको स्पष्ट पारेका छन्। अध्यक्ष सिंहले ३० वर्षदेखि लागेका विद्यार्थी नेताहरुलाई संगठनका नेतृत्वमा बर्जित गरेर तानाशाही व्यवहार देखाएको केसीको आरोप छ। संगठनका पदाधिकारीहरुले राखेका जायज माग सम्बोधन नगरेर अध्यक्ष सिंहले उल्टै कारबाही गरेकोमा पनि उनले आक्रोस पोखे। उनले अध्यक्ष सिंहको नेतृत्वको टोलीले हल खाली गरेर साथीहरु पिटाएको र संगठनलाई अराजक गुण्डागर्दी शैलीमा लगेको आरोप लगाए।


‘२१औं राष्ट्रिय सम्मेलनमा हितमान शाक्यको नेतृत्वमा निर्वाचनमार्फत् चयन भएका कमिटीलाई पाखा लगाउँदै २२औं राष्ट्रिय सम्मेलनमा टिका लगाउने काम गरियो। यसबारेमा हलमा विरोध पनि भयो।’ उनले भने,‘यद्यपी पार्टीले नै पार्टीले नै चुनाव नगरेर मनोनित गरेपछि हामी मान्न तयार भयौं। तर, उपाध्यक्ष, महासचिव, सचिव विधानतः १९९ कमिटि २५ पदाधिकारी हुनुपर्छ भनेर हामीले अडान लिएका थियौं।’

प्रतिकृया