केयू हाइड्रोजन ल्याबका पदाधिकारीसँग अर्थमन्त्रीले भने- सय मेगावाटको प्लान्ट लगाउन तयारी गरौं

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ०४:११

artha e1655807137645

७ असार २०७९ काठमाडौंः अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनादर्न शर्मा र काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।छलफलमा अर्थमन्त्री शर्माले सुरुआतमा सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।


विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल सय मेगावाटको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए । मन्त्री शर्माले भने ‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थमन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं । तपाईहरु (केयूका पदाधिकारी) पनि तयारी गर्नुस्। र, हप्ता–दशभित्र पुनः अर्को बैठक बसौं।’


रसायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरुले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना संचालन गर्ने विषयमा छलफल अघि बढाउने बताए। छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख बिराजसिंह थापाले १ सय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्नेगरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको जानकारी गराए।


उनले विभिन्न देशमा ग्रीन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रीन हाइड्रोजन अवलम्बन गर्ने नीतिका बारेमा जानकारी गराएका थिए। उनका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ। विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो हुने दाबी गरिएको छ।

प्रतिकृया