डुब्यो देउराली सहकारी, ठगिए हजारौं भक्तपुरबासी

प्रकाशित मिति

२०७९ असार ५ गते, आईतवार ०५:४०

deurali

५ असार २०७९, काठमाडौंः सदस्यहरुबाट उठाएको बचत संस्थाका सञ्चालकले आफूखुसी लगानी गर्दा देउराली बहुउद्देश्यीय सहकारी संस्था डुबेको छ । संस्थाका अध्यक्ष र सञ्चालहरुले सहकारी ऐन, नियमावली विपरित आफूखुसी रुपमा जग्गा, अन्य व्यवसायमा लगानी गर्दा संस्था डुबेको हो । स्रोतका अनुसार संस्थाको पैसा मिटर ब्याजमा समेत लगानी गरेको पाईएको छ ।संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईले संस्थाको पैसा आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफै चलाउने गरेको समेत संस्थाको प्रतिवेदनबाट प्रष्ट हुन्छ ।


सूर्यविनायक शाखाकी एक कर्मचारीले मातृभुमि सँग कुरा गर्दै सहकारी नडुबेको र अहिले मिथ्या समाचार आइरहेको बताइन् ।अहिले सहकारीले निश्चित रकममात्र सदस्यहरुलाई निक्षेप फिर्ता गरिरहेको र सोही कारण बचतकर्ताहरुमा गलत सन्देश गइरहेको र चाँडै त्यो समस्या समाधान हुने पनि बताइन् ।


संस्थाले ६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने गरी उपत्यकाका विभिन्न स्थानबाट निक्षेप संकलन गरेको थियो । संस्थाले भक्तपुरका हजारौंलाई सदस्य बनाएर निक्षेप संकलन गरेको थियो । संस्थाले १ वर्षे आवधिक बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । सहकारीको सूर्यविनायकमा शाखा रहेको छ ।सहकारीको सन्दर्भ ब्याजदरले १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन नपाउने व्यवस्था गरेको अवस्थामा उक्त संस्थाले २२ प्रतिशतसम्म ब्याज दिनेगरी बचत उठाएको थियो ।


संस्थामा सात जनाको सञ्चालक समिति रहेको छ । सात जना मध्ये २ जना सञ्चालक विदेशमा छन् । संस्थाका केही कर्मचारी अहिले सम्पर्कविहिन बनेका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ । उक्त प्रतिवेदन अनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा देखिन्छ । नगद देखिएको उक्त रकम अध्यक्ष तथा सञ्चालकहरु आफैले चलाउने गरेको समेत यसैबाट प्रष्ट हुन्छ । अघिल्लो असारमै संस्थाको स्थिती बिजोक रहेको प्रतिवेदनले प्रष्ट देखाउँछ ।

प्रतिकृया