• 5:30 am

बजेटमा भएको विभेद र त्रुटी नसच्चाए सिंहदरबार घेर्ने स्वदेशी उद्योगीहरुको चेतावनी

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार ०५:३२

swadeshi utpadak 2 e1655207177186

३१ जेठ २०७९ काठमाडौंः सरकारले हालै ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्र्दै स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।


नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको आरोप लगाएका छन् । नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेपाली उद्योगलाई पुर्ण रुपमा धराशयी बनाउने नीति सरकारले लिएको भन्दै देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुंदै पनि विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्याएको उनले आरोप लगाए । आफुहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाई छ ।


उनले भने,‘आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ ।’ उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । सेनेटरी प्याड उत्पादनमा पुर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ।


गत ०७७/७८ सालमा नेपाल आँफैले ३ अर्बको सेनेटरी प्याड उत्पादन गरेको सुनाए । यदि माग सुनुवाई नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्र्ने चेतावनी दिए । अध्यक्ष अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा कुरा भएको र उनीहरुले धैर्य गर्न आश्वासन दिएकोले आफुहरु रोकिएको बताए । उनले अब माग सम्बोधन नभए ठुलो आन्दोलन गर्ने चेतावनी दिए ।


साखः स्टिलका सञ्चालक किरण साखःले डन्डीको विषयमा धेरै पटक मिडियामा आएको बताए । पुरानो समस्या अझैपनि सरकारले सम्बोधन नगरेको भन्दै उनले दुःखेसो पोखे । अहिलेको बजेटको विषयमा बोल्दै साखःले २४/२५ वटा उद्योग बन्द गर्ने खालको बजेट ल्याएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘स्पोन्ज आइरनमा मात्र किन अन्त शुल्क बढाइयो रु’


उनले ४/५ वटा उद्योगको लागि मात्र सरकारले छुट दिएपछि धेरै उद्योग धराशयी भएको बताए । सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्तशुल्कको विरोध गर्दै सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने उनको दाबी छ । उनले भने,‘नेपाली उद्योगबाटै बिलेट दिन्छाैं, तपाईहरु खरिद गरेर विक्रि गर्नुस भन्छ सरकारले तर त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ । कि त भारतको मुल्यमा दिनुप्रयो ।’


अन्तराष्ट्रिय अभ्यासअनुसार तयारी मालमा अन्तशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले सुनाए । उनले भने,‘तर सरकारले त्यो मान्न तयार भएन ।’ भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने उनले बताए । सरकारले उद्योगीहरुको माग सम्बोधन गर्ने विश्वास अझै रहेको भन्दै उनले भने,‘आज नभए भोलि अनि यो सरकारले नभए अर्को सरकारले हाम्रो माग पुरा गर्नैपर्छ । हामीले जायज माग उठाएका छौं ।’ सरकारले मनन गरेर उद्योगीहरुको माग सुन्नुपर्ने उनले बताए । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै गलत नीति तत्काल सच्याउनुपर्ने उनको भनाई छ ।


उनले सरकारले पोस्न खोजेका ६ वटा उद्योगहरुको नामसमेत सार्वजनिक गरे । उनकाअनुसार सरकारले अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपतिको लागि सरकारले अन्य उद्योगलाई मारमा पार्ने काम गरेको छ । धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोस पोखे । उनले अब पनि माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।

swadeshi utpadak 1 1

प्रतिकृया