नयाँ बजेटबारे प्रदेशभरबाट सुझाव संकलन गर्दै सरकार
प्रकाशित मिति
२०७९ जेष्ठ १५ गते, आईतवार १०:३९

१५ जेठ २०७९, काठमाडौंः आर्थिक वर्ष २०७९–०८० को नीति, कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव संकलन गरेर मन्त्रीहरु राजधानी विराटनगर फर्किएका छन्।
तल्लो तहसम्मै पुगेर सुझाव संकलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ। प्रदेशका मन्त्री, सचिवहरु तथा योजना आयोगका पदाधिकारी गएर सुझाव संकलन गरेको र यही साता स्थानीय तहका सबै प्रमुख र उपप्रमुखको भेला गरेर पनि सुझाव संकलन गरिने सरकारको भनाइ छ।
बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाहरु मसिनोसँग बुझ्ने र जनता तथा सरोकारवाला पक्षसँग अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले सबै जिल्लामा छलफल गरिएको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले जानकारी दिए।
‘तीन तहका सरकार बीचको समन्वयको अवस्था, आयोजनाको दोहोरोपनको समस्याबारे यो छलफलले धेरै वस्तुगत अवस्था प्रष्ट पारेको छ’, मन्त्री आङ्बोले भने, ‘आजसम्ममा सबै जिल्ला पुगेको टोली विराटनगर आइपुग्दैछ। संकलित सुझावलाई नीति कार्यक्रम तथा बजेटमा समेट्ने प्रयास हुनेछ।’
छलफलबाट असार १ मा आउने प्रदेशको र स्थानीय तहको असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाए।
प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमबारबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन सोमबार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्दैछ। जेठ २५ मा नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्नेछन्।
प्रतिकृया