पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि, पुनः सार्वजनिक यातायातको भाडा वृद्धि
प्रकाशित मिति
२०७९ जेष्ठ ११ गते, बुधबार १२:४६

११ जेठ २०७९, काठमाण्डौंः पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाडा दुई सातामा दोस्रो पटक वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार हालको भाडादरमा यात्रुवाहक सवारीमा २.१ प्रतिशत वृद्धि भएको छ । पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत वृद्धि भएको छ भने तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडादर वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थमा एकै पटक पाँच प्रतिशत मूल्य थपघट हुँदा वैज्ञानिक भाडादरका आधारमा स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्नुपर्ने नीति भएकाले भाडा वृद्धि भएको हो । विभागले मङ्गलबारदेखि लागू हुने गरी अन्तर प्रदेश रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको सूचनामार्फत जानकारी दिएको छ । यसअघि विभागले जेठ ३ गते भाडा समायोजन गर्दा साबिकको भाडादरमा ३.५ देखि ५.१ प्रतिशतसम्म वृद्धि गरेको थियो । २०७८ चैत २० गते पनि १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि भएको थियो ।
सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजनका लागि पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजेल पेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर समायोजन गरिन्छ । विभागले अन्तर प्रदेशका रुटमा भाडा समायोजन गर्दछ भने प्रदेशभित्र प्रदेश सरकारले समायोजन गर्ने व्यवस्था छ ।
प्रतिकृया