• 4:45 pm

१० महिनामा सवा १४ खर्बको व्यापार घाटा, २७ प्रतिशतले बढ्यो आयात

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०४:०३

१० जेठ २०७९, काठमाण्डौंः आर्थिक बर्षको १० महिनासम्म आउँदा १४ खर्ब ३१ अर्ब रुपैयाँ बैदेशिक व्यापार घाटा भएको छ । मंगलबार भंन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार गत बर्षको तुलनामा व्यापार घाटा २४.९४ प्रतिशतले बढेको हो ।


त्यस्तै विभागको तथ्याङक अनुसार १० महिनामा १६ खर्ब ४ अर्ब बराबको आयात भएको छ । यो गत बर्षको तुलनामा २७.९५ प्रतिशतले बढेको छ । गत बर्षका सोही अबधिमा १२ खर्ब ९४ अर्ब बराबरको आयात भएको थियो ।


उक्त अवधिमा निर्यात ५९.८० प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार नेपालले १० महिनामा १ खर्ब ७३ रुपैयाँ बराबको बस्तु निर्यात गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा नेपालले १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो ।


नेपालको कुल बाह्य व्यापारमा आयातको हिस्सा ९०.२५ प्रतिशत र निर्यातको हिस्सा ९.७५ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षको १० महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ ।


यस आर्थिक बषको वैशाख मसान्तसम्म मुलुकमा १ खर्ब २३ अर्ब रुपैयाँ मूल्य भन्दा बढीको डिजेल भित्रिएको छ । त्यस्तै पेट्रोल ५४ अर्ब ८३ करोड रुपैयाँ तथा एलपी ग्यास ५२ अर्ब ५९ लाख रुपैयाँ बढीको भित्रिएको विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्याङ्कले देखाउँ छ । दश महिनाका अवधिमा ४९ अर्ब ४१ करोड रुपैयाँ मूल्य भन्दा बढीको भटमासको तेल आयात भएको छ ।


त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कानुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड रुपैयाँ मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अल्पकालको लागि बढाएको देखिन्छ । त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधन भएर निर्यात हुने गरेको छ । सार्वजनिक विवरणानुसार चालु आर्थिक बषको पहिलो १० महिनासम्म ३७ अर्ब ९४ करोड रुपैयाँ मूल्य भन्दा बढीको पाम तेल निर्यात भएको छ ।


सार्वजनिक तथ्याङ्कानुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब ९ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी मूल्यमा वस्तु आयात भएको देखिन्छ, भने १ खर्ब ३७ अर्ब रुपैयाँ मूल्य बराबरका बस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ८ खर्ब ५८ अर्ब रुपैयाँ भन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट २ खर्ब २६ अर्ब रुपैयाँ मूल्य बराबरका बस्तु आयात गरेकामा ६७ करोड ४४ लाख रुपैयाँ मूल्य बराबरको बस्तु निर्यात गरेको देखिन्छ ।


विभागको विवरणानुसार चालु आर्थिक बषको १० महिनामा सबैभन्दा धेरै वीरगन्ज नाकाबाट ५ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य बराबरको बस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट २ खर्ब ५० अर्ब रुपैयाँ बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ ।


नेपालले वीरगन्ज भन्सारबाट ७३ अर्ब ९ करोड रुपैयाँ, विराटनगर भन्सारबाट ४९ अर्ब २८ करोड रुपैयाँ तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट २६ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढी मूल्यका वस्तु मुलुक बाहिर निर्यात भएको छ ।

प्रतिकृया