• १८:४९ २०८० चैत्र १६ गते
  • 6:49 pm

डा. चैतन्य सुब्बाकाे निधन

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०२:२७

Chaitnya subba GHCVKMNNnM e1651653751928

२१ बैशाख २०७९, काठमाण्डौं : आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा चैतन्य सुब्बाको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा मंगलबार राति १० बजेतिर निधन भएको छ । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।


राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका सुब्बा आदिवासी जनजाति विकास समितिका संस्थापक अध्यक्ष पनि थिए, जसले नेपालका आदिवासी जनजातिहरूको सूची बनाएको थियो । सोही समितिको सिफारिसअनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन भएको थियो । त्यस्तै, लागूपदार्थ दुरुपयोग निवारण सङ्घको कार्यकारी निर्देशक, इन्टरनेसनल अर्गनाइजेसन अफ गुड टेम्पलर्स साउथ एन्ड साउथ इस्ट एसिया रिजनल काउन्सिलको कार्यकारी सदस्य, लागूऔषध माग घटाउन गृह मन्त्रालयका लागि यूएनडीपीको परियोजना कन्सल्ट्यान्ट समेत रहेका थिए ।


अध्ययन अनुसन्धानमा रुचि राख्ने सुब्बा मुन्धुमको ज्ञाता थिए । उनका लिम्बू संस्कृतिसम्बन्धि दर्जन बढी पुस्तक छन् । त्यस्तै, ‘ट्रिटमेन्ट अफ ड्रग डिपेन्डेन्स इन नेपालः एप्रोचेज एन्ड एक्सपिरियन्सेज’ पुस्तकका लेखक उनको ‘ड्रग’सम्बन्धि टिचर ट्रेनिङ मेन्युअलदेखि विभिन्न रिसर्च रिपोर्ट प्रकाशित छन् ।


ताप्लेजुङको साविक थेचम्बु आम्बेबुङमा २००३ भदौ २९ गते जन्मिएका मेन्याङ्बोको एक श्रीमती, एक छोरी र दुई छोरा छन् । उनी काठमाडौंको सिफलमा सपरिवार बस्दै आएका थिए । बुधबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको अमृत योञ्जन तामाङले बताए ।

प्रतिकृया