कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु
प्रकाशित मिति
२०७९ बैशाख १४ गते, बुधबार ०३:०३

१४ बैशाख २०७९, काठमाडौं : भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको सुनाए।
हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।
भारतबाट नेपालले ३ माध्यमबाट बिजुली किन्दै आएको छ । एक्सचेन्ज बजार, राज्य सरकार बिहार र पावर ट्रेड कर्पोरेसनबाट बिजुली किन्दै आएको छ । तर, अहिले भारत नै बिजुली सङ्कटबाट गुज्रिदा यी तिनै माध्यमबाट बिजुली किन्न सकिएको छैन् ।
हाल अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ४ गुणासम्म बढेको छ । रुस/युक्रेन युद्धका कारण विश्वभर यसको मूल्य उकालो लागिरहेको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य कीर्तिमानी मूल्यमा बढ्दा ढुवानी लागत समेत बढेको छ भने कोरोना महामारीका कारण आपूर्ति प्रणाली नै खलबलिएको छ ।
सोहीकारण कोइलाबाट चल्ने भारतका पावर प्लान्टले मागेजति कोइला नपाएपछि उत्पादन कटौती गरेका छन् । यसका साथै भारतमा अहिले बिजुलीको माग ह्वात्तै बढेको छ ।
प्रतिकृया