म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डो समस्या कि समाधान ?
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार ०७:०३
४ वैशाख २०७९, काठमाडौँ : म्यानचेस्टर युनाइटेडका लागि र्पोचुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो समस्या कि समाधान रु यो यस्तो प्रश्न हो जुन वल्ड ट्राफोर्ड आसपासका फुटबल समर्थकको जिब्रोमा झुण्डिरहेको हुन्छ । शनिबार घरेलु मैदानमा नर्विचसँगको ३–२ को जितमा रोनाल्डोले गरेको ह्याट्रिक मात्र हैन, उनको हेडर र फ्रिकिक गोलले यो प्रश्न फेरि एक पटक चर्चामा आएको छ । बीस यार्डको दुरीबाट पनि बललाई गोलको दिशा दिनु सामान्य होइन भन्दै उनको प्रसंसा भएको छ ।
रोनाल्डोकै प्रदर्शनको भरमा पाएको ३–२ को जितले आउँदो सिजनको च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको ढोका खुल्ने संभावना कायम छ। महत्वपूर्ण खेलमा गरेका प्रदर्शन र योगदानले उनी म्यानचेस्टर युनाइटेडका लागि बलिया खेलाडी हुन् भन्ने पुष्टि हुन्छ । रोनाल्डोको लागि यो म्यानचेस्टर युनाइटेडमा दोश्रो इनिङ्स र समग्रमा सातौं सिजन हो । यस क्रममा उनले प्रिमियर लिगमा ९९ गोल पूरा गरेका छन् । क्लब फुटबलमा एकै सिजन २० भन्दा बढी गोल गरेको यो उनको १६ औं सिजन हो ।
रोनाल्डोको प्रदर्शनको प्रसंसा गर्दै नर्विचका प्रशिक्षक डीन स्मिथले भने, ‘यदि कोही खेलाडीले २० गोल गर्छ र १५ गोल असिस्ट गर्छ भने त्यो खेलाडी क्लबका लागि निकै महत्वपूर्ण हुनेछ ।’ उनको यो भनाइको सन्देश हो, युनाइटेडले क्लबका हितका लागि भए पनि रोनाल्डोलाई छोड्नु हुँदैन । युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रंगनिक भन्छन्, ‘यो कुनै संयोग होइन । हरेक खेलमा उत्कृष्ट नजिता निकाल्ने उनी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन् ।’ अहिलेको नतिजा हेर्ने हो भने पनि ओल्ड ट्रफोर्डमा उनको प्रदर्शन अन्य टोलीका लागि भारी नै रहन पुग्छ ।
लिभरपुलविरुद्धको खेल निकै कठिन
युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फले मंगलबार प्रिमियर लिगमा लिभरपुलसँग हुने खेल निक्कै कठिन हुने आकलन गरेका छन् । लिभरपुल पछिल्लो समय निकै बलियो टिमको रुपमा उदाएको छ । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीमाथि ३–२ को जित निकाल्दै लिभरपुल एफए कपको फाइनलमा पुगेको हो । यसरी हेर्न हो भने लिभरपुल यस सिजनमा चार उपाधिको दाबेदारी गर्ने तयारीमा छ ।
‘लिभरपुलले जसरी सिटीमाथि जित हात पार्यो । त्यो हेर्दा हाम्रो लागि पनि मंगलबार हुने खेल निकै कठिन हुनेछ’, राल्फले भने । ७३ अंकसहित तालिकाको दोश्रो स्थानमा रहेको लिभरपुलको म्यानचेस्टर सिटीको भन्दा १ अंक कम छ । पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड चौथो स्थानको टोटनहमभन्दा ३ अंकले पछि छ ।
यस्तोमा लिभरपुललाई उपाधि होड कायम राख्नमा मात्रै हैन युनाइटेडलाई च्याम्पियन्स लिगको ढोका खुल्ला राख्नमा पनि मंगलबारको खेलमा जितको बिकल्प छैन । त्यसैले मंगलबारको खेलमा खेलमा रोनाल्डोको कस्तो प्रदर्शन गर्ने छन् ? त्यसको नतिजापछि मात्र रोनाल्डोकाबारेमा समर्थक र आलोचकले गर्ने चर्चा फरक हुन सक्छ ।
– बीबीसीको सहयोगमा
प्रतिकृया