• 1:26 am

‘केजीएफ-२’ले बक्स अफिसमा सुनामी ल्याउने अनुमान

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार ०६:२४

२८ चैत्र २०७८, मुम्बई : कोरोना महामारीले थिलथिलो बनाएको फिल्म उद्योगलाई बलिउडको ‘द कश्मीर फाइल्स’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’ले खुसी फर्काएका छन् । मार्च महिनामा यी दुई ठूला फिल्मले भारतीय बक्स अफिस कब्जा गरे । कतिपय पुराना रेकर्ड नै तोडेका छन् । यो सिलसिलालाई निरन्तरता दिन अर्को साउथ फिल्म अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको ‘केजीएफ-२’ले बक्स अफिसमा सुनामी ल्याउने अनुमान गरिएको छ ।


अहिलेदेखि आक्रामक रुपमा अग्रिम टिकट बुकिङ भइरहेको यो फिल्मले विभिन्न रेकर्ड राख्ने अपेक्षा गरिएको छ । ‘केजीएफ-२’का निर्माता पनि फिल्मबाट धेरै आशावादी देखिन्छन् । सन् २०१८ मा आएको ‘केजीएफ’को पहिलो भागले बलिउड सुपरस्टार शाहरुख खान स्टारर ‘जिरो’लाई नाजुक अवस्थामा पुर्‍याइदिएको थियो । त्यसबेला धेरै होहल्लाविना नै यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।


सुरुमा ‘केजीएफ’का नायक यशको धेरैले खिल्ली उडाएका थिए । तर पछि फिल्म चल्न थालेपछि बक्स अफिसमा सबैलाई छक्क पार्दै अप्रत्याशित नतिजा ल्यायो । शाहरुखको ‘जिरो’लाई पन्छाउँदै दर्शकको मन जित्यो । अहिले प्रदर्शनको सम्मुखमा रहेको ‘केजीएफ-२’लाई लिएर दर्शकहरु उत्साहित छन् । यो फिल्मको निर्माण टिमले प्रचारप्रसार तीव्र बनाएको छ ।


यो फिल्मको टिकट बुकिङ र चर्चा हेर्दा यसले फिल्म बजारमा कब्जा नै जमाउने अड्कलबाजी भइरहेका छन् । भारतीय बजारमा यसले धेरै रेकर्ड तोड्ने, नयाँ बेन्चमार्क सेट गर्ने र फिल्म उद्योगलाई पीडाको भूमरीबाट मुक्त गराउने विश्लेषकहरुको आँकलन छ ।


‘केजीएफ’ : एक केस स्टडी

‘द कश्मीर फाइल्स’ मनोरञ्जन उद्योगको लागि एउटा केस स्टडी हो । यसले साउथ स्टार प्रभासको ‘राधेश्याम’ र बलिउड स्टार अक्षय कुमारको ‘बच्चन पाण्डे’लाई पनि पछि पारेर बक्स अफिसमा आफ्नो दबदबा कायम गर्‍यो । यसपछि प्रदर्शनमा आएको साउथ फिल्म ‘आरआरआर’ले त विश्वव्यापी रुपमा एक हजार करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । अब ‘केजीएफ-२’ले अर्को रेकर्ड राख्ने देखिएको छ ।

प्रतिकृया