त्रिकोणात्मक सिरिज : नेपाल र पीएनजी उपाधिका लागि भिड्दै
प्रकाशित मिति
२०७८ चैत्र २१ गते, सोमबार ०७:५६

२१ चैत्र २०७८, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज (सोमबार) फाइनल खेल खेल्दैछ । फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई प्रतिस्पर्धी पाएको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।
सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्र्दै सिरिज आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताए ।
सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा बताए । ‘म एक खेलाडीको नाताले यो सिरिज एकदमै महत्त्वपूर्ण छ । म कप्तानभन्दा पहिले टिमको सदस्य हो । जति खुशी अरुलाई लाग्छ मलाई पनि त्यति नै लाग्छ । सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौँ,’ सन्दीपले भने ।
सन्दीपले फाइनल खेलमा कुनै पनि दबाब नभएको बताए । उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने बताए । ‘भोलिको खेल सबैको लागि महत्वपूर्ण छ । हामीलाई केही दबाब छैन् । हामी सबै खेलाडी आफ्नो तर्फबाट दिनै सबै मेहनत दिनेछौं । हामीले सिरिज जित्नका लागि सकेसम्म राम्रो टोली मैदानमा प्रस्तुत गर्नेछौं,’ सन्दीपले भने ।
यता पीएनजीका कप्तान असाड भालाले सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब भएपनि आफूहरु सिरिजको उपाधि जित्नका लागि खेल्ने भएकाले अहिले त्यो दबाब नभएको बताए । ‘कुनै किसिमको दबाब छैन । हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौँ । सिरिजका अघिल्लो तीन खेलमा पराजित भएरपनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्त्वपूर्ण छ,’ भालाले भने ।
पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोर्यको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् ।
प्रतिकृया