• 5:53 pm

खप्तडी बुढाथोकीको बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०३:२६

२० चैत ०७८काठमाडौं : “कुल बंशको रक्षा गरौं ,संस्कार र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


जिल्ला कार्यसमिति ललितपुरको मुख्य आयोजना र काठमाडौं , भक्तपुर , धादिङ्ग र काभ्रेपलान्चोक जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भएको अन्तरकृयामा सहभागीहरुले बन्धुत्वको विकास गर्दै र संगठनलाई सुदृढ गर्दै समुन्नतितर्फ डोर्याउनुपर्नेमा जोड दिएका छन् ।


कार्यक्रममा समाजका अग्रज ब्यक्तित्व राष्ट्रिय योजना आयोगका पुर्व सदस्य समेत रहेका डा.प्रभु बुढाथोकीले समाज र समाजका अगुवाहरुले बन्धुहरुबीच आपसी संवाद,सम्पर्क,सहभागिता र सकृयता बढाएर एकताबद्ध र गोलबद्ध हुनुपर्नेमा जोड दिए ।


उनले १२ सय बर्ष अघि नै खप्तडी बुढाथोकी क्षेत्री काठमार्डौ उपत्यकामा बसोबास गर्दै आएको तथ्य उल्लेख गरे । उनले बुढाथोकी क्षेत्री सेवा समाजलाई देशलाई अन्धराष्ट्रवादबाट मुक्त गर्नुपर्ने जस्तै अन्ध सोचबाट मुक्त गर्नुपर्नेमा जोड दिए । समाजका केन्द्रीय महासचिब डम्बर बहादुर बुढाथोकीले नेपालको संबिधान अनुरुप समाजको बिधान बनेको भन्दै समाजको केन्द्रीय कार्य समिति,प्रदेश तथा जिल्ला समिति पनि बिधान बमोजिम चल्नुपर्नेमा जोड दिए ।


समाजको ३५ जिल्लामा समिति बिस्तार भैसकेको जानकारी दिंदै उहाँले देशबिदेशमा छरिएर रहेका बन्धुहरुबीच दुखसुख साटासाट गर्ने र पहिचानको खोजी गर्ने उदेश्यले २०५४ सालमा समाजको स्थापना भएको स्मरण गराए ।


कार्यपत्रमाथि टिप्पणी गर्दै समाजका केन्द्रीय उपमहासचिब तथा प्रबक्ता पुष्करराज बुढाथोकीले संगठनमा नै बल हुने भन्दै सबै समितिलाई चलायमान बनाउँदै आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।


खप्तडी बुढाथोकीको ईतिहाँस र पहिचानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष तथा कार्यक्रम संयोजक मोहन बुढाथोकीले समाजको अनुभव,अवसर,चुनौति र संभावनाबारे प्रकाश पारे । उनले सदस्यहरुको जिम्मेवारी ,कर्तव्य र कसरी संस्थालाई अगाडि बढाउने बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यपत्र माथि टिप्पणी गर्दै समितिका काठमाडौं अध्यक्ष शैलेन्द्र बुढाथोकी र धादिङ अध्यक्ष राजेन्द्र बुढाथोकीले समाजलाई बन्धुहरुको सुख दुखको भारी बिसाउने थलोको रुपमा बलियो बनाउँदै लैजानुपर्ने बताए ।


ललितपुर हात्तिबनमा सम्पन्न भएको एक दिवसीय बागमती प्रदेश स्तरीय अन्तरक्रियामा बागमती प्रदेश भित्रका जिल्ला कार्यसमितिका सम्पुर्ण पदाधिकारी , सल्लाहकार र लेखा समितिका सदस्यको सहभागिता रहेको थियो ।


जेष्ठ अभिभावक कृष्ण बहादुर बुढाथोकीको सभापतित्वमा भएको सो अन्तरक्रिया कार्यक्रममा सरस्वती बुढाथोकीले ललितपुर जिल्लाको लागत संकलनको सर्भे पस्तुत गर्नुभएको थियो भने सहभागीलाई चार समुहमा विभाजन गरी समुह छलफलबाट निष्कर्ष घोषणा गरिएको थियो ।


भक्तपुर अध्यक्ष हरिकृष्ण बुढाथोकीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम समाजका अभियन्ता अशोक बुढाथोकीले संचालन गरेका थिए । कार्यक्रममा रामेछाप अध्यक्ष ज्ञान बहादर बुढाथोकी , कोषाध्यक्ष मोहन बुढाथोकी ,काभ्रे जिल्ला अध्यक्ष रामहरी बुढाथोकी, सचिव शिवशरण बुढाथोकी ,सिन्धुली अध्यक्ष प्रेम बहादुर बुढाथोकी , सल्लाहकार प्रकाश बर्मा बुढाथोकी लगायतले राय सुझाव दिएका थिए ।


कार्यक्रममा रसुवा र मकवानपुर बाहेक ११ जिल्लाका ८५ जना को प्रतिनिधिमुलक ढंगले सहभागिता रहेको थियो । समाजको केन्द्रीय कार्य समितिले बिगतमा जस्तै यस बर्ष पनि क्यालेण्डर प्रकाशनको तयारीमा रहेको जानकारी दिंदै समाजका सदस्य सबैमा शुभकामना सन्देश र बिज्ञापन दिई सहयोग गर्न अपिल गरेको छ ।

प्रतिकृया