वैशाख ९ बाट मण्डला थिएटरमा ‘पल्पसा क्याफे’
प्रकाशित मिति
२०७८ चैत्र १९ गते, शनिबार ०६:३०

१९ चैत्र २०७८, काठमाडौँ : कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको हो ।
अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ । सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलिप रानाभाटको सह निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि फेरबदल भएको छ । अघिल्लो वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भए पनि समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् ।
दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैले गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदैछन् । नाटक पटक पटक सरेकाले नयाँ नयाँ कलाकारहरूलाई जुटाउन समस्या भएको कास्टिक डिरेक्टर तथा सहनिर्देशक दिलिप रानाभाटले बताए । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासमा तत्कालीन परिवर्तनशील समाजको कथालाई उतारिएको छ ।
नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारको अभिनय रहनेछ ।
प्रतिकृया