• 7:43 pm

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०४:२८

१८ चैत २०७८, काठमाण्डौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघका नेताहरुले तालाबन्दी गरेका छन् । लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्रको नेतृत्वमा जनकपुरधामस्थित लोसपा मधेश प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो ।


लोसपा धनुषाका जिल्ला अध्यक्ष परमेश्‍वर साहले आफूखुशी विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनित गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । अध्यक्ष साहले विद्यार्थी संगठनका नेताहरुसँग विचार विमर्श नै नगरि पकेटबाट मान्छे निकालेर अध्यक्ष पदमा मनोनित गरेकाले सोको विरोधस्वरुप आफूहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए ।


उनले भने, ‘हामी विद्यार्थी संगठनका नेता कार्यकर्तालाई बेवास्ता गर्दै विद्यार्थी संघ धनुषाको जिल्ला अध्यक्ष पदमा नियुक्त गरेकाले विरोध गर्दै तालाबन्दी गरेका हौं ।’ तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल गठन प्रक्रिया पश्चात पार्टीका शीर्ष नेताको आपसी मतभेद र रस्साकस्सीले विद्यार्थीहरुको भविष्य नै अन्धकारमा पार्न खोजेको उनले बताए ।


पार्टी अध्यक्ष परमेश्‍वर साहले बिहीबार मात्रै विद्यार्थी संघ धनुषाको जिल्लाको अध्यक्षमा मोइजाज अन्सारीलाई मनोनित गरेका थिए ।

प्रतिकृया