• 4:52 pm

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०४:३९

१६ चैत २०७८, काठमाडौं : इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ ।


इजरायली अधिकारीका अनुसार बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएका छन् । घटनाका क्रममा खिचिएका भिडियोमा कालो वस्त्र लगाएको बन्दुकधारीले मानिसहरुमाथि जथाभावी गोली चलाएको देखिन्छ । प्यालेष्टाइनको वेष्ट ब्याङ्कस्थित जेनिन भन्ने स्थानमा बसोबास गर्ने २६ वर्षीयले गोलीकाण्ड मच्चाएको जनाइएको छ ।


बन्दुकधारी यसअघि पनि इजरायली कारागार चलान भइसकेको पूर्व कैदी रहेको बबीसीले जनाएको छ । पछिल्लो एक सातामा इजरायलमा भएको यो तेश्रो आक्रमण हो ।


आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री नफ्तलाई बेन्नेटले आकस्मिक सुरक्षा बैठक डाकेका छन् । ‘इजरायलले प्राणघातक अरब आतंकवादको सामना गरिरहेको छ ।’ बेन्नेटले भने ।

प्रतिकृया