• 1:17 pm

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको रुसी आक्रमणमा १२ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०२:५५

१६ चैत २०७८, काठमाडौं : युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो ।


आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर भिताली किम त्यहाँ नरहेको बीबीसीले जनाएको छ ।


रुसी फौजको हवाई आक्रमणमा अरु २२ जना घाइते भएको युक्रेनी गृहमन्त्रालयले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । डेनमार्कको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘माइकोलाइभ क्षेत्रमा कुनै सैनिक निशाना थिएनन् । माइकोलाइभका बासिन्दाबाट रुसलाई कुनै खतरा थिएन ।’


यता क्षेत्रीय गभर्नर भिताली किमले भने उक्त भवनमा मानिसहरु आउने कुरेर बसेका रुसी फौजले धेरै जनाको हुलमुल भएपछि आक्रमण गरेको आरोप लगाएका छन् । ‘म धेरैबेर सुतेको थिएँ । तर भाग्यमानी साबित भएँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘अधिकांश मानिसहरु चामत्कारिक हिसाबले भागे । तर, कसरी मलाई थाहा छैन ।’


केही सातायता युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेका छन् । युक्रेनी प्रतिरोधको सामनाबाट हतास बनेका रुसी फौजले यस्ता गैरसैनिक एवम् नागरिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । (एजेन्सी)

प्रतिकृया