• 10:42 pm

जुम्लामा २५ चैतदेखि बालबालिकाहरुको लागि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुँदै

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ११:५०

१६ चैत २०७८, काठमाडौं : जुम्लामा २५ चैतदेखि आगामी १८ वैशाखसम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकोउक्त खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।


जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने जनाएका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खोप लगाउन १ सय ९१ टोली परिचालन गरिनेछ ।


जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणको जोखिम रहन्छ । यो रोगका लक्षण ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन् ।


टाइफाइडका ३५ सय बिरामी

जुम्लामा चार वर्षमा टाइफाइडका ३५ सय बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७५र७६ मा ९ सय ७८, आव २०७६/७७ मा १ हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख भएको पाइएको छ ।


नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया