• 4:17 pm

महालक्ष्मी नगरपिालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम भएको मेयर श्रेष्ठको दाबी, यस्ता छन् उपलब्धीहरु

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ११:२९

पालिकााभित्र ४७ विद्यालयमा इन्टरनेट पहुँच, ३ विद्यालयमा नर्स संचालन

सुजिता सापकोटा, १६ चैत २०७८, काठमाडौं : कोरोना महामारीका बाबजुत पनि शैक्षिक गतिबिधिहरुको माध्यमबाट नगरपालिकाको शैक्षिक क्षेत्रमा आफ्नो कार्यकालमा उल्लेखनीय कामहरु भएको नगर प्रमुख रामेश्वर श्रेष्ठले दाबी गरेका छन् । पूर्वाधारको पनि पूर्वाधार मानिने शिक्षाको पद्दति र विषयवस्तु व्यक्ति¸ राष्ट्र र समाजको आवश्यकता अनुकुल बनाउन महालक्ष्मी नगरपालिकाले विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउँदै उनले साे दाबी गरेका हुन् ।


“कोरोना महामारीले अन्य क्षेत्रलाई जस्तै शैक्षिक क्षेत्रलाई पनि ठुलो असर पार्यो तर यसका बाबजुत पनि महालक्ष्मी नगरपालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय कामहरु भएका छन्”, मेयर श्रेष्ठले भने ।


नगर प्रमुख श्रेष्ठका अनुसार यस नगरपालिकामा प्राथमिक शिक्षा विस्तार, समाहित शिक्षा कार्यक्रम एवम् निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यक्रम सञ्चालनबाट आधारभूत शिक्षाको पहुँच अभिवृद्धिमा सकारात्मक नतिजा हाँसिल भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दो रहेको छ । कोभिड १९ को यस महामारीमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नसकिने अवस्था रहेकोले शिक्षकहरुलाई भर्चुअल माध्यमबाट शिक्षण सिकाई गर्न सहजीकरण गर्न विभिन्न शिक्षक तालिमहरु समेत नगरपालिकामा सञ्चालन भएका छन् ।


त्यस्तै, संघीय, प्रदेश तथा स्थानीय तहबाट विद्यालयमा विनियोजन भएका बजेट समयमा नै निकासा गरिएको श्रेष्ठको दाबी छ । निकासा गरिएका कार्यक्रमहरुमा सामग्री खरिद, निर्णय प्रक्रिया सम्बन्धमा अनुगमन गरिएको र अनुगमनका क्रममा खर्च नभएका रकमहरुलाई दाखिला गर्न लगाइएको उनले बताए ।


यस्तै, विद्यार्थीहरुलाई शैक्षिक सत्रको प्रारम्भमा नै निःशुल्क पाठ्यपुस्तक प्रदान गरी वार्षिक रुपमा दुई पटक शैक्षिक तथ्याङ्क सङ्कलन , भेरिफिकेसन र प्रकाशन गर्ने कार्य सम्पन्न भएको छ । आधारभूत तहका सबै दलित विद्यार्थी र छात्राहरुका लागि छात्रवृत्ति प्रदान गरिएको छ । यसले उनीहरुको शैक्षिक पहुँच र निरन्तरतामा सहयोग मिलेको नगर प्रमुखले विश्वास ब्यक्त गरे ।


पूर्वप्राथमिक कक्षा विद्यालय शिक्षाको औपचारिक शिक्षा आरम्भ गर्ने तह तथा विद्यालय शिक्षाको जग भएकाले यस तहबाट नै बलियो बनाएर लैजानुपर्छ भन्ने मान्यताले अर्ली चाइल्डहुड एजुकेसन सेन्टरसँगको सहकार्यमा सबै सामुदायिक विद्यालयका सबै बालविकास शिक्षकहरु तथा संस्थागत र गुठीद्वारा सञ्चालित विद्यालयका प्रतिनिधिमूलक बालविकास शिक्षकहरुको सहभागितामा खेल विधिमा आधारित २० दिनको विस्तृत तालिम समेत सञ्चालन गरिएको नगरपालिकाको शिक्षा शाखाले बताएको छ । । तालिम सँगसंगै पूर्वप्राथमिक तहलाई बालमैत्री कक्षा निर्माण गरी पठनपाठनका लागि सबै सामुदायिक विद्यालयहरुलाई बजेटको व्यवस्था गरिएको र पूर्वप्राथमिक तहमा सुधारको संकेत देखिएको यस शाखाको दाबी छ ।

४७ विद्यालयमा इन्टरनेट पहुँच

महालक्ष्मी नगरपालिकाको ४७ वटा विद्यालयमा इन्टरनेट पहुँच पुगिसकेको नगरपालिकाको शिक्षा शाखाले बताएको छ । जसमध्ये ११ वटा सामुदायिक र ३६ वटा संस्थागत विद्यालय रहेका छन् ।


यस्तै, महालक्ष्मी नगरको ३१ वटा विद्यालयमा आइ सि टि (इन्फमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजि) ल्याब उपलब्ध भइसकेको छ । जसमध्ये करिब ६८ प्रतिशत संस्थागत विद्यालय छन् भने बाँकी ३२ प्रतिशत सामुदायिक विद्यालय छन् । अर्थात् हालसम्म २१ संस्थागत र १० सामुदायिक विद्यालयमा आइसिटि ल्याबको पहुँच पुगेको छ । यस्तै, नपाको २० विद्यालयमा आइसिटि प्रयोगशाला विकास भइसकेको छ जहाँ सिकाईलाई अझै सहज र आधुनिक बनाउनका लागि ल्यापटप, डेस्क्टप तथा स्मार्ट बोर्ड उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । यता, ९ विद्यालयले आफ्नै वेब पोर्टल विकास गरिसकेका छन् ।


प्राबिधिक धार संचालन भएका विद्यालय हालसम्म यस न.पाभित्र ५ पुगेका छन् । यसमा ३ वटा विद्यालयलाई सिटिइभिटिले अनुमति दिएको छ । यस्तै ३ विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्नका लागि विद्यालय नर्स समेत संचालन गरिएको छ जसमा महेन्द्र आदर्श मा बि, विश्वमित्र गणेश मा वि र सिद्धिमंगल माबि रहेका छन् ।


त्यस्तै, विद्यार्थीहरुको सुबिधालाई मध्यनजर गरी न.पाभित्र २४ वटा विद्यालयमा बस सेवा संचालनमा ल्याइसकेको शिक्षा शाखाका उपसचिब चिरञ्जीवी पौडेलले बताए । जसमध्ये २३ वटा संस्थागत र एक सामुदायिक विद्यालय रहेको छ ।


सामुदायिक विद्यालयतर्फको बिवरण अनुसार शैक्षिक सत्र २०७४ देखि २०७७ सालसम्म उत्तीर्ण भएका कुल विद्यार्थी संख्या गत ४ वर्षमा उकालो लागेको छ । ०७४ सालमा कक्षा १ देखि ५ सम्म उत्तीर्ण हुने विद्यार्थी २९३ रहेको न.पामा सो संख्या बढेर ०७८ सालमा ३९६ पुगेको छ ।

महालक्ष्मी नगरपालिकाकाे उपलब्धीसम्बन्धित अन्य समाचारहरु

प्रतिकृया