बलात्कार घटनाका आरोपित अभिनेता पल शाहलाई चितवन ल्याइयो
प्रकाशित मिति
२०७८ फाल्गुन २४ गते, मंगलवार ०३:४७

२४ फागुन २०७८, काठमाडौं : नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् ।
यो मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिप गिरीले जानकारी दिए । फागुन १६ गते ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।
गैंडाकोटमा गीत छायाङ्कनका क्रममा गत वर्ष चैत ७ गते एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छन । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया