• १४:१३ २०८० चैत्र १६ गते
  • 2:13 pm

बागलुङमा ई–पासपोर्ट वितरण सुरु

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार १२:१८

E passport e1644829646222

२३ फागुन २०७८, काठमाण्डौंः बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु भइसकेको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो । सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिए।


जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फाराम सङ्कलन सुरु गरेको थियो । पासपोर्टको फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले बताए ।


यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्यूनतम एक महिनाको समय लाग्थ्यो । ई–पासपोर्ट १५ दिनमै तयार भएको छ । प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालयभित्र नै लिने गरेको छ । व्यक्तिगत विवरणका लागि व्यक्तिले अनलाइनमार्फत फाराम भर्नसक्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाइ छ ।


सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि गत मङ्सिर १ गतेदेखि एमआरपी फाराम सङ्कलन बन्द गरेको थियो । एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टको काम गर्छ । प्रशासनले दैनिक १० फाराम लिने गरेको छ ।

प्रतिकृया