पासपोर्ट र टिकटबिनै आलम यसरी पुगे दोस्रो पटक विमानमा
प्रकाशित मिति
२०७८ फाल्गुन ११ गते, बुधबार ०२:३६

११ फागुन २०७८, काठमाडौं । गत सोमबार (९ फागुन) राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास पुगे । नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ माग्दा उनीसँग न बोर्डिङपास थियो न अन्य कागजपत्र । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उनी रौतहटका १८ वर्षिय असरफ आलम हुन् जो विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुले चाल ननपाउने गरी विमानसम्म पुगे । यसरी बिमानसम्म टिकट र पासपोर्टबिना आलम दोस्रो पटक पुगेका हुन् ।
सोमबार राति पौने १० बजे आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले बताए। विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत हेर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु ‘बोर्ड’ गरिरहेको विमानसम्म पुगेका थिए ।
अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ । तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो । तर, यसपटक पनि सोहि हर्कत दोहोर्याएकाले आलममाथि विस्तृत अनुसन्धान हुने विमानस्थल प्रमुख ठाकुले बताए ।
‘एकपटक मानसिक सन्तुलन ठीक नभएको भनेर छाडिएको व्यक्तिले फेरि सोही हर्कत दोहोर्याउनु निकै गम्भीर विषय हो,’ उनले भने, ‘उनले कुनै खालको रेकी गर्न या अन्य कुनै स्वार्थसहित त्यसो गरिरहेका छन् कि भनेर अनुसन्धान हुन्छ ।’
आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् ।
प्रतिकृया