नेपालमा चीनले सीमाना मिचेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ०२:२३

२४ माघ २०७८, काठमाडौं : राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । एकता अभियानका अध्यक्ष विनय यादवले सोमबार काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर सूचना अधिकारी राजेन्द्रमान बेपानलीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
नेपालमा चिनियाँ अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन उक्त ज्ञापनपत्र बुझाएको जनाइएको छ। , ‘एकता अभियानले नेपालको चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। अभियानले चीनसँगको नेपालको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई भूमिका खेलिदिन आग्रह गदैछौं ’ , ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा चीन अतिक्रमित भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमास्तम्भहरुको जीपीएस राख्दै यसको रेकर्ड दुबै सरकार र अन्तर्राष्ट्रिय समुदायले राख्नुपर्ने माग गरिएको छ ।
उक्त ज्ञापनपत्रमा काठमाडौंस्थित अमेरिकी दूतावास, नेपालस्थित युरोपियन युनियनका प्रतिनिधि, काठमाडौं रुसी दूतावास, चिनियाँ दूतावास र भारतीय दूतावासलाई यसको बोधार्थ पठाइएको छ।


प्रतिकृया