राष्ट्र बैंकले ९ अर्ब ५० करोड विकास ऋणपत्र जारी गर्ने
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ११:५०

२४ माघ २०७८, काठमाडौं : नेपाल राष्ट्र बैंकले साढे ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी बुधबारदेखि दुई वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ जारी गर्ने भएको हो । आज सोमबार एक सूचना जारी गर्दै बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई उक्त विकासपत्र खरिदका लागि आह्वान समेत गरेको छ ।
इच्छुक खरीदकर्ताले मंगलबार दिउँसो ३ बजेसम्म विकासपत्र खरिदका लागि दरखास्त दिन सक्ने छन् । अनलाइन बोल कबोलमार्फत जारी गरिने यस विकास ऋणपत्र राष्ट्र बैंकको वेबसाइटबाटै आवेदन दिन सकिने छ ।
प्रतिस्पर्धाका आधारमा बिक्री गरिने भएपनि यस विकास ऋणपत्रलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई भागमा विभाजन गरिएको बैंकले जनाएको छ । जसमा कुल विकास ऋणपत्रको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धी बोलवालाहरुलाई र १५ प्रतिशत विकास पत्र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको छ ।
कुल ९ अर्ब ५० करोड विकास ऋणपत्र मध्ये ८.०७५ अर्ब खुल्ला प्रतिस्पर्धात्मकबाट र १.४२५ अर्ब विना प्रतिस्पर्धा बिक्री गरिनेछ । माघ २६ गतेदेखि जारी हुने ऋणपत्र आगामी २०८० माघ २६ गते परिपक्व हुने बैंकले जनाएको छ ।
ब्याज भने खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६/६ महिनामा पाउँनेछन् । यस्तो ऋणपत्र आवश्यक परेको खण्डमा खरिदकर्ताले धितोको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा समेत राख्न पाउनेछन् ।
प्रतिकृया