प्रधानमन्त्री देउवा ३ दिने भारत भ्रमणमा जाने तय, मोदीसँग गुजरातमै भेटवार्ता हुने
प्रकाशित मिति
२०७८ पुष २० गते, मंगलवार ०४:४०

२० पुस २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्ने छन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार मणको मिति र कार्यक्रम तय भइसकेको छ तर दुबैतर्फबाट यो सार्वजनिक गरिने भएकाले केही समयका लागि रोकिएको हो।
सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका छन् ।
प्रधानमन्त्री बनेपछि देउवाको यो दोस्रो विदेश भ्रमण र भारतको पहिलो भ्रमण हुनेछ। यद्यपी यो प्रधानमन्त्री देउवाको राजकीय भ्रमण भने होइन ।
प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् ।
प्रतिकृया