संसद्लाई प्रभावकारी बनाउने निर्णायक भूमिका दलहरुकै हुन्छ : सभामुख सापकोटा
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ०५:०२

मंसिर २७, २०७८, काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी बनाउनका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन्। उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताएका हुन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलि (मङ्गलबार)देखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका हुन्। संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए।
उनले भने, ‘मुख्यत यो सदन भनेपछि पार्टीहरुकै भूमिका निर्णायक हुन्छ। सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख। जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ। हामीले गर्नुपर्ने तयारी गरेका छौँ। संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ। अरु त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो।

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल अजेण्डा रहेको उल्लेख गरे। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत् नभएको टिप्पणी गरे। उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको बताए।
‘उहाँहरुले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानुनअनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्। जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्ररुपमै गरेको छु,’ उनले भने।
प्रतिकृया