कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चुन्न मतदान शुरु
प्रकाशित मिति
२०७८ मंसिर २७ गते, सोमबार ११:४४

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ३ घण्टा ढिला गरि शुरु भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको छ ।
मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।
राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।
महाधिवेशनबाट १ सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, ८ जना सहमहामन्त्री निर्वाचित हुने छन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुने छन् ।
मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।
प्रतिकृया