माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी
प्रकाशित मिति
२०७८ मंसिर १० गते, शुक्रबार ०२:४७

१० मंसिर २०७८, काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा नभए २० लाख मानिस उतार्ने चेतावनी दिएका छन् । शुक्रबार चितवनमा नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले उक्त चेतावनी दिएका हुन् ।
संविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने उनको चेतावनी छ ।
ठाकुर ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । त्यस्तै, मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिकृया